• ५ फागुन २०८२, मङ्गलबार

प्रतिनिधिसभा उपनिर्वाचन : सिन्धुपाल्चोकमा उम्मेदवारको दौडधुप

blog

चित्रकुमार मिजार

सिन्धुपाल्चोक, फागुन ५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार गाउँगाउँ पुगेर मत माग्न व्यस्त हुनुभएको छ । दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा तीन स्वतन्त्र र राजनीतिक दलका १५ गरी १८ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङले कार्यकर्ता र शुभेच्छुकसहित घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ । इन्द्रावती गाउँपालिका, हेलम्बु गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका र मेलम्ची नगरपालिकामा घरदैलो गरी समाजका अगुवा व्यक्तित्वसँग भेटघाट तथा नागरिकका समस्या सुन्ने र आफ्ना योजना सुनाउने काम भइरहेको तामाङले बताउनुभयो ।

यस्तै नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङले निर्वाचन क्षेत्रका सबै स्थानीय तहका गाउँबस्तीमा पुगेर भोट मागिरहनुभएको छ । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार युवराज दुलालले जनताको घरदैलोका साथै राजधानीमा बसोबास गर्ने मतदातासँग समेत भेटघाट तीव्र बनाउनुभएको छ । उहाँले बागमती प्रदेश सरकारको मन्त्री र प्रदेशसभा सदस्य रहँदा गरेका विकास निर्माणका कामबारे सामाजिक सञ्जालमार्फत समेत प्रचारप्रसार गरिरहनुभएको छ ।

एमाले उम्मेदवार तामाङले पनि आफ्नो पहलमा भएका विकासका गतिविधिबारे मतदातालाई जानकारी गराइरहनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झलककुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गोपीकृष्ण चौलागाईं पनि तामझामका साथ घरदैलोमा व्यस्त हुनुहुन्छ ।

निर्वाचनमा उज्यालो नेपाल पार्टीका रामसिंह तामाङ, मङ्गोल नेसनल अर्गनाइजेसनका कर्णवीर स्याङ्बो लामा, श्रम संस्कृति पार्टीका भानु श्रेष्ठ, नेमकिपाका म्हेन्दो तामाङ, आम जनता पार्टीका गणेश श्रेष्ठ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दावा छिरिङ शेर्पा, मितेरी पार्टी नेपालका महेश कुँवर, राष्ट्रिय मुक्ति पार्टीका मिङार तामाङ, नागरिक सर्वोच्चता पार्टी नेपालका शेरबहादुर तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सोनाम लामा लगायतका स्वतन्त्र उम्मेदवार पनि मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ ।

जिल्लाका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले विकासका एजेन्डालाई प्राथमिकता दिएर मत मागिरहेका छन् । यस निर्वाचन क्षेत्रमा एक लाख ३८ हजार १३ मतदाता रहेका छन् ।