• ५ फागुन २०८२, मङ्गलबार

मधेसमा कांग्रेसको ‘प्रतिज्ञा सभा’ हुँदै

blog

सभापति गगनकुमार थापाको उपस्थितिमा हुने कार्यक्रमबारे जानकारी दिँदै मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, फागुन ५ गते । नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले देशलाई लयमा ल्याउने प्रतिज्ञासहित ‘कांग्रेस मधेस प्रतिज्ञा सभा’ आयोजना गर्न लागिएको बताउनुभएको छ। 

बुधबार जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजित सभाको तयारीबारे जानकारी दिँदै उहाँले सो कुरा बताउनुभएको हो । सभा पार्टीका सभापति गगनकुमार थापाको उपस्थितिमा आयोजना हुनेछ ।

सभापति यादवले आसन्न निर्वाचनलाई लक्षित गर्दै सभापति थापाको वक्तव्य, हालसम्मका क्रियाकलाप तथा ‘मिसन–भिजन’ लाई प्रतिज्ञापत्रमा समावेश गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार १६५ निर्वाचन क्षेत्रमा कांग्रेसका बागी उम्मेदवार नरहनु पार्टीका लागि सुखद सङ्केत हो । उहाँले २०४८ सालको निर्वाचनको माहोल झल्किने गरी २०८२ सालको निर्वाचनमा कांग्रेसको पक्षमा वातावरण बन्ने दाबीसमेत गर्नुभयो ।

यादवले आगामी प्रधानमन्त्रीका लागि थापा नै उपयुक्त उम्मेदवार रहेको उल्लेख गर्दै अन्य दाबेदारलाई राष्ट्रिय बहसमा खुला संवाद गर्न चुनौतीसमेत दिनुभयो । 

कांग्रेसले मधेस केन्द्रित एजेन्डासहित आयोजना गर्न लागेको प्रतिज्ञा सभाले प्रदेश तथा सङ्घीय राजनीतिमा नयाँ सन्देश दिने विश्वास व्यक्त गरिएको छ ।