जेनेभा, फागुन ५ गते । मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बन्दै गइरहेका बेला संयुक्त राज्य अमेरिका र इरानले जेनेभामा आफ्नो आणविक कार्यक्रम सम्बन्धी दोस्रो चरणको वार्ता सुरु गर्ने सहमति जनाएका छन् । दुवै देशबिचको तनावपूर्ण सम्बन्धका बिच कूटनीतिक संवाद पुनःअगाडि बढ्नुलाई महत्त्वपूर्ण सङ्केतका रूपमा हेरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रम सीमित गर्न दबाब दिँदै आवश्यक परे बल प्रयोग गर्न सकिने चेतावनी दिँदै आउनुभएको छ । इरानले त्यस्तो कुनै कदम चालिए प्रतिकार गर्ने बताउँदै आएको छ । हालै इरानमा भएका राष्ट्रव्यापी विरोध प्रदर्शनमाथिको दमनलाई लिएर पनि ट्रम्पले कडा प्रतिक्रिया व्यक्त गर्नुभएको थियो ।
दुवै पक्षबिच पहिलो चरणको अप्रत्यक्ष वार्ता फेब्रुअरी ६ मा ओमानमा भएको थियो । त्यहाँ वार्ता अलग-अलग रूपमा सञ्चालन गरिएको थियो । दोस्रो चरणको बैठक जेनेभामा हुने भए पनि यसको स्वरूपबारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन । ट्रम्पका दूत स्टिभ विटकफ र जारेड कुसनर वार्ताका लागि यात्रा गरिरहनु भएको छ । हङ्गेरीको बुडापेस्ट भ्रमणमा रहनु भएका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले कठिनाइ हुँदाहुँदै पनि शान्तिपूर्ण सम्झौता खोजिरहेको बताउनुभयो ।
“राष्ट्रपतिले सधैँ वार्ताबाटै समाधान खोज्ने प्राथमिकता दिनुहुन्छ”, उहाँले भन्नुभयो । इरानी विदेशमन्त्री अब्बास अराघचीले जेनेभामा संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायका प्रमुखसँग भेट गर्नु भएको छ । उहाँले निष्पक्ष र न्यायसङ्गत सम्झौता खोज्न आफू तयार रहेको उल्लेख गर्दै धम्कीका आधारमा समर्पण स्वीकार्य नहुने स्पष्ट पार्नु भएको छ । ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले क्षेत्रीय शान्ति र संयमको आवश्यकता औँल्याउँदै मध्यस्थ भूमिकालाई निरन्तरता दिने सङ्केत गर्नुभएको छ ।
यसैबिच, वार्तासँगै सैन्य गतिविधि पनि बढेको छ । इरानको अर्धसैनिक क्रान्तिकारी गार्डले होर्मुज जलडमरू, पर्सियन खाडी र ओमानको खाडी क्षेत्रमा नौसैनिक अभ्यास सुरु गरेको जनाएको छ । ती जलमार्ग विश्व व्यापारका दृष्टिले महत्त्वपूर्ण मानिन्छन्, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने गर्छ । केही सुरक्षा समूहले उत्तरी लेनमा लाइभ–फायर अभ्यास हुन सक्ने चेतावनी दिएका छन्, यद्यपि इरानी सरकारी सञ्चार माध्यमले त्यसको पुष्टि गरेका छैनन् ।
अमेरिकाले पनि आफ्नो सैन्य उपस्थिति सुदृढ गरेको छ । युएसएस जेराल्ड आर फोर्ड विमानवाहक पोतलाई मध्यपूर्व पठाइएको छ । त्यहाँ युएसएस अब्राहम लिङ्कनसहित अन्य युद्धपोत पहिले नै तैनाथ छन् । अमेरिकी सेनाले हालै एक इरानी ड्रोन खसालेको जनाएको छ, जुन लिङ्कन नजिक पुगेको थियो । इजरायल-हमास युद्धले प्रभावित खाडी क्षेत्रका राष्ट्रले थप द्वन्द्व क्षेत्रीय सङ्कटमा परिणत हुन सक्ने चेतावनी दिएका छन् । रासस/एपी