• ५ फागुन २०८२, मङ्गलबार

सीमापार कार्बन भण्डारणमा मलेसिया-जापान सहकार्य

blog

बैंकक, फागुन ५ गते । नियन्त्रणका उपायमाथि विश्वव्यापी बहस चर्किरहेका बेला जापान र मलेसियाले सीमापार कार्बन क्याप्चर तथा भण्डारण परियोजना अघि बढाउने तयारी गरेका छन् । आलोचकले प्रभावकारितामाथि प्रश्न उठाइरहे पनि दुवै देशले यसलाई उत्सर्जन व्यवस्थापनको नयाँ विकल्पका रूपमा प्रस्तुत गरेका छन् ।

योजना अनुसार जापानले विद्युत् उत्पादन, तेल प्रशोधन, सिमेन्ट, ढुवानी र इस्पात उद्योग जस्ता आफ्ना औद्योगिक क्षेत्रबाट निस्कने कार्बन डाइअक्साइड सङ्ग्रह गरेर तरलीकृत अवस्थामा मलेसिया पठाउने प्रस्ताव गरेको छ । उक्त कार्बन बोर्नियो टापुको सारावाक राज्य नजिकका समाप्त ग्यास क्षेत्रमा भूमिगत रूपमा भण्डारण गरिने सम्भावना छ । यदि सफल भएमा यसले इन्डोनेसिया र थाइल्यान्ड जस्ता अन्य दक्षिणपूर्व एसियाली राष्ट्रमा यस्तै परियोजनाका लागि मार्ग प्रशस्त गर्न सक्ने विज्ञको भनाइ छ ।

कार्बन क्याप्चर प्रक्रिया प्रदूषणकारी स्रोतबाट सिधै उत्सर्जन सङ्ग्रह गर्ने, त्यसलाई तरलीकृत गरी विशेष जहाजमार्फत ढुवानी गर्ने र अन्ततः भूमिगत इन्जेक्सनमार्फत दीर्घकालीन भण्डारण गर्ने तीन चरणमा आधारित हुन्छ । इन्जेक्सनपछि चुहावट रोक्न दीर्घकालीन निगरानी आवश्यक हुन्छ । यद्यपि विस्तृत प्राविधिक खाका अझै सार्वजनिक गरिएको छैन ।

केही सरकार र ऊर्जा कम्पनीले यसलाई स्वच्छ ऊर्जातर्फको सङ्क्रमणका लागि ‘समय किन्ने’ उपायका रूपमा व्याख्या गर्छन् । युरोपमा पनि सीमापार कार्बन ढुवानी र अपतटीय भण्डारण परियोजना परीक्षण भइरहेका छन् । तर अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०५० सम्म कुल उत्सर्जन कटौतीमा यसको योगदान पाँच प्रतिशतभन्दा कम हुने अनुमान गरेको छ ।

मलेसियाले आफूलाई क्षेत्रीय कार्बन क्याप्चर केन्द्रका रूपमा उभ्याउने लक्ष्य राखेको छ । गत वर्ष यससम्बन्धी विधेयक पारित गरिएको थियो र अर्थ मन्त्रालयले ३० वर्षमा दुई खर्ब ५० अर्ब डलरसम्म आर्थिक लाभ हुन सक्ने आँकलन गरेको जनाएको छ । सरकारी तेल तथा ग्यास कम्पनी पेट्रोनासले एक अर्ब १० करोड डलरको अपतटीय कार्बन भण्डारण सुविधा निर्माणको नेतृत्व गरिरहेको छ, जुन दशकको अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य छ । यद्यपि मलेसियाको करिब ८१ प्रतिशत बिजुली अझै जीवाश्म इन्धनबाट उत्पादन हुन्छ ।

विश्वका प्रमुख कार्बन उत्सर्जक मध्ये एक जापानले शुद्ध उत्सर्जन घटाउने योजना अन्तर्गत नौ कार्बन भण्डारण स्थलमा लगानी गरिरहेको छ, जसमध्ये तीन मलेसियामा रहेका छन् । सन् २०३० सम्म ती स्थलले वार्षिक दुई करोड टन कार्बन भण्डारण गर्ने अनुमान गरिएको छ, जुन जापानको वार्षिक उत्सर्जनको करिब दुई प्रतिशत हो । भण्डारण गरिएको कार्बनको प्रतिटन मलेसियालाई भुक्तानी गरिने छ र जापानले सो मात्रा आफ्ना कुल उत्सर्जनबाट घटाउन सक्ने छ ।

तर आलोचकले यसलाई ‘कार्बन उपनिवेशवाद’ को संज्ञा दिएका छन् । फ्रेन्ड्स अफ द अर्थ जापानकी अयुमी फुकाकुसाले अन्य देशमा उत्सर्जन निर्यात गर्नु दिगो समाधान नभएको बताउनुभयो । सेन्टर फर इन्टरनेसनल इन्भाइरोन्मेन्टल लका राचेल केनरलीले यस्तो योजनाले प्रदूषणको बोझ मलेसियातर्फ सार्ने र वास्तविक उत्सर्जन कटौती प्रयासलाई कमजोर पार्ने चेतावनी दिनुभयो ।

जलवायु सङ्कटसँग जुध्न तत्काल उत्सर्जन घटाउने उपाय प्राथमिक हुनुपर्ने तर्क राख्नेका अनुसार कार्बन क्याप्चर महँगो र अप्रमाणित विकल्प हो । तथापि, जापान र मलेसियाले यसलाई प्रविधिगत अवसर र आर्थिक सम्भावनाका रूपमा अघि बढाइरहेका छन् । सीमापार कार्बन भण्डारणको यो पहल सफल हुने वा थप विवाद जन्माउने भन्ने प्रश्न अब कार्यान्वयन चरणमा निर्भर रहने छ । रासस/एपी