राजन रावत
हुम्ला, फागुन ५ गते। सेवा–सुविधा कम भएको भन्दै निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन (म्यादी) प्रहरीले विरोध प्रदर्शन गरेका छन्। पूर्वसहमति र अहिले दिन लागिएको पारिश्रमिकमा फरक परेको भन्दै उनीहरूले मङ्गलबार विरोध गरेका हुन्।
निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीमध्येका एक कृष्ण छत्यालले आफूहरूले पाउने सेवा–सुविधामा कटौती गरिएकाले विरोधमा उत्रिनुपरेको बताउनुभयो। सुरुमा ४० दिन काम गरेबापत एक जनाले ८४ हजार रुपियाँ पाउने आश्वासन प्रहरी अधिकृतले दिएको तर मङ्गलबारको कार्यक्रममा ६४ हजार मात्र पाउने जानकारी गराइएपछि विवाद उत्पन्न भएको उहाँको भनाइ छ।
सिमकोटस्थित खेलमैदानमा निर्वाचनका लागि कार्यक्षेत्र खटाउने तयारी भइरहेका बेला म्यादी प्रहरीलाई पारिश्रमिकबारे जानकारी दिइएको थियो। पहिले र अहिलेको सेवा–सुविधामा भिन्नता देखिएपछि म्यादी प्रहरी खेलमैदानबाटै विरोध जनाउँदै जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्न पुगेका थिए। पारिश्रमिकमा किन कमी आयो भन्नेबारे यथार्थ जानकारी गराउनुपर्ने माग उनीहरूको रहेको छ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले म्यादी प्रहरीसँग बसेर छलफल गर्ने र यथार्थ विवरण सार्वजनिक गर्ने बताउनुभयो। हुम्ला जिल्लामा निर्वाचनका लागि ५९५ जना म्यादी प्रहरी भर्ना भएका छन्।