• ५ फागुन २०८२, मङ्गलबार

जिल्ला कारागार बागलुङको सुरक्षामा सेना

blog

बागलुङ नगरपालिका–१, भगवती टोलमा रहेको कारागार । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन ५ गते । जिल्ला कारागार बागलुङको सुरक्षामा नेपाली सेनाले अगुवाई लिएको छ । निर्वाचनका लागि नेपाल प्रहरी विभिन्न स्थानमा खटिएको र सुरक्षा संवेदनशिलता भएकोले सेनाले सुरक्षाको जिम्मा लिएको हो । 

आसन्न फागुन २१ को निर्वाचनमा जिल्लामा सुरक्षाकर्मी अभाव भएपछि १ हजार २ सय बढी म्यादी प्रहरी समेत भर्ना गरिएको छ । उनीहरुलाई तालिमपछि सबै मतदान केन्द्रसम्म खटाइने छ । त्यसअघि नै नेपाली सेनाको बागलुङ घोडाबाँधेस्थित कालीजङ्ग गणबाट खटिएको टोलीले कारागारको सुरक्षा दिइरहेको गणपति शिव अधिकारीले बताउनुभयो । 

बागलुङ कारागारमा १ सय ७० कैदीबन्दी छन् । क्षमता थोरै भएपछि अधिक कैदीबन्दी भएकोले आन्तरिक सुरक्षा संवेदनशिलता समेत छ । जिल्ला कारागारको क्षमता १ सय जना मात्र हो । महिलातर्फ २० जनाको क्षमता भए पनि १३ जना मात्रै छन् । 

पछिल्लो समय कारागारलाई सुधारगृहको रूपमा विकास गर्न लागिएको छ । राष्ट्रिय मानव अधिकार आयोग, नेपाल मानव अधिकार सङ्गठनले यहाँ अनुगमन गर्दै आइरहेका छन् । बागलुङका विभिन्न सामाजिक सङ्घसंस्थाले कारागारमा खेल तथा सरसफाइ सामाग्री सहयोग पनि गर्दै आएका छन् ।