काठमाडौँ, फागुन ५ गते । आइसिसी टी–२० विश्वकप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपालले समूह चरणको अन्तिम खेल आज स्कटल्यान्डसँग खेल्दैछ ।
मुम्बईस्थित वनखेडे मैदानमा साँझ ७:१५ बजे सुरु हुने खेल नेपालका लागि प्रतिष्ठाको लडाईं हुनेछ । समूह ‘सी’अन्तर्गत अघिल्ला तीन खेलका लगातार हार खेपेको नेपाल आज सान्त्वना जितको खोजीमा छ ।
यस खेल जितेमा नेपालले विश्वकपमा १२ वर्षपछि जित निकाल्ने छ । तेस्रो पटक विश्वकप खेलिरहेको नेपालले यसअघि सन् २०१४ मा समूह चरणको खेलमा अफगानिस्तानलाई हराएको थियो । त्यसयता नेपाल विश्वकपमा जितबिहीन छ ।
यस्तै समूह चरणबाट बाहिरिएको स्कटल्यान्ड पनि नेपाललाई हराएर विश्वकपको सुखद अन्त्य गर्ने दाउमा छ । यस समूहबाट ६/६ अङ्क बनाएको वेस्ट इन्डिज र इङ्ल्यान्ड सुपर आठमा प्रवेश गरिसकेको छ । स्कटल्यान्ड र इटालीले एक एक खेल जित्दै समान दुई अङ्क बनाएका छन् । नेपाल भने अङ्कबिहीन छ ।
नेपाल र स्कटल्यान्ड दुवै एसोसिएट टोली हुन् । यी दुई टोलीबिच यसअघि दुई खेल भएको छ । जसमा दुवै टोलीले एक एक खेल जितेका थिए । टी–२० वरीयतामा स्कटल्यान्ड १४औँ र नेपाल १६औँ स्थानमा छ ।