• ५ फागुन २०८२, मङ्गलबार

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

blog

जेनेभा, फागुन ५ गते । मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बन्दै गइरहेका बेला संयुक्त राज्य अमेरिका र इरानले जेनेभामा आफ्नो आणविक कार्यक्रमसम्बन्धी दोस्रो चरणको वार्ता सुरु गर्ने सहमति जनाएका छन् । दुवै देशबीचको तनावपूर्ण सम्बन्धका बीच कूटनीतिक संवाद पुनः अगाडि बढ्नुलाई महत्त्वपूर्ण सङ्केतका रूपमा हेरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रम सीमित गर्न दबाब दिँदै आवश्यक परे बल प्रयोग गर्न सकिने चेतावनी दिँदै आउनुभएको छ । इरानले त्यस्तो कुनै कदम चालिए प्रतिकार गर्ने बताउँदै आएको छ । हालै इरानमा भएका राष्ट्रव्यापी विरोध प्रदर्शनमाथिको दमनलाई लिएर पनि ट्रम्पले कडा प्रतिक्रिया व्यक्त गर्नुभएको थियो ।

दुवै पक्षबीच पहिलो चरणको अप्रत्यक्ष वार्ता फेब्रुअरी ६ मा ओमानमा भएको थियो । त्यहाँ वार्ता अलग–अलग रूपमा सञ्चालन गरिएको थियो । दोस्रो चरणको बैठक जेनेभामा हुने भए पनि यसको स्वरूपबारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन ।

ट्रम्पका दूत स्टिभ विटकफ र जारेड कुसनर वार्ताका लागि यात्रा गरिरहनुभएको छ । हङ्गेरीको बुडापेस्ट भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले कठिनाइ हुँदाहुँदै पनि शान्तिपूर्ण सम्झौता खोजिरहेको बताउनुभयो । “राष्ट्रपतिले सधैँ वार्ताबाटै समाधान खोज्ने प्राथमिकता दिनुहुन्छ”, उहाँले भन्नुभयो ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले जेनेभामा संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायका प्रमुखसँग भेट गर्नुभएको छ । उहाँले निष्पक्ष र न्यायसङ्गत सम्झौता खोज्न आफू तयार रहेको उल्लेख गर्दै धम्कीका आधारमा समर्पण स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ । ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले क्षेत्रीय शान्ति र संयमको आवश्यकता औँल्याउँदै मध्यस्थ भूमिकालाई निरन्तरता दिने सङ्केत गर्नुभएको छ ।

यसैबीच, वार्तासँगै सैन्य गतिविधि पनि बढेको छ । इरानको अर्धसैनिक क्रान्तिकारी गार्डले होर्मुज जलडमरू, पर्सियन खाडी र ओमानको खाडी क्षेत्रमा नौसैनिक अभ्यास सुरु गरेको जनाएको छ । ती जलमार्गहरू विश्व व्यापारका दृष्टिले महत्त्वपूर्ण मानिन्छन्, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने गर्छ । केही सुरक्षा समूहहरूले उत्तरी लेनमा लाइभ–फायर अभ्यास हुन सक्ने चेतावनी दिएका छन्, यद्यपि इरानी सरकारी सञ्चारमाध्यमले त्यसको पुष्टि गरेका छैनन् ।

अमेरिकाले पनि आफ्नो सैन्य उपस्थिति सुदृढ गरेको छ । युएसएस जेराल्ड आर फोर्ड विमानवाहक पोतलाई मध्यपूर्व पठाइएको छ । त्यहाँ युएसएस अब्राहम लिङ्कनसहित अन्य युद्धपोतहरू पहिले नै तैनाथ छन् । अमेरिकी सेनाले हालै एक इरानी ड्रोन खसालेको जनाएको छ, जुन लिङ्कन नजिक पुगेको थियो । इजरायल–हमास युद्धले प्रभावित खाडी क्षेत्रका राष्ट्रहरूले थप द्वन्द्व क्षेत्रीय सङ्कटमा परिणत हुन सक्ने चेतावनी दिएका छन् ।

वार्ताको अर्को मुख्य विषय अन्तर्राष्ट्रिय प्रतिबन्धहरू रहने देखिएको छ । ट्रम्प प्रशासनले इरानको आणविक कार्यक्रम सीमित गर्ने र हतियार विकास रोक्ने सम्झौता खोजिरहेको जनाएको छ । इरानले भने आफू आणविक हतियारको खोजीमा नरहेको दोहोर्‍याउँदै प्रतिबन्धहरू कम गर्नुपर्ने अडान राखेको छ । उपविदेशमन्त्री माजिद तख्त–राभान्चीले अमेरिका निष्कपट भए सम्झौताको बाटो खुल्न सक्ने बताउनुभएको छ ।

इजरायलले गत जुनमा इरानमाथि १२ दिन लामो आक्रमण सुरु गरेपछि वार्ताको प्रक्रिया अवरुद्ध भएको थियो । त्यस क्रममा अमेरिकी सेनाले पनि इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो । इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ । युद्धअघि इरानले ६० प्रतिशत शुद्धतासम्म युरेनियम संवर्धन गरिरहेको जनाएको थियो, जुन हतियारस्तरभन्दा केही तलको अवस्था मानिन्छ ।

तनाव र संवाद सँगसँगै अघि बढिरहेका बेला जेनेभाको दोस्रो चरणको वार्ताले भविष्यको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ । रासस, एपी