• ५ फागुन २०८२, मङ्गलबार

प्रवासी युवाद्वारा स्वास्थ्य चौकीलाई मर्चरी च्याम्बर हस्तान्तरण

blog

प्रवासी युवाले किनेका मर्चरी च्याम्वरहरु धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिदैँ ।तस्बिर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र  तिमिल्सेना

टीकापुर, फागुन ५ गते ।कैलालीको टीकापुर नगरपालिका-८ बाट रोजगारीका लागि परदेशमा रहेका युवाहरूले धनसिंहपुर स्वास्थ्य चौकीलाई दुईवटा लास राख्ने भाँडो ९मर्चरी च्याम्बर उपलब्ध गराएका छन् ।

कर्णाली नदीको बाढीबाट प्रभावित हुने यस वडाका हरेकजसो घरबाट युवाहरू रोजगारीका लागि विदेशमा छन् । घरमा कसैको मृत्यु भएमा दाह संस्कार गर्ने युवा परदेशबाट आउन समय लाग्ने भएकाले त्यतिन्जेल लास कुरेर बस्दा अप्ठ्यारो झेलेका नागरिक मर्चरी च्याम्बर पाएपछि धेरै खुशी भएका हुन् ।

स्थानीय समाजसेवी पदमराज जोशीले मानिस मरेपछि एकातिर परिवारको रोदन, क्रन्दन, अर्कोतिर लास कुर्दै आइस खोज्नुपर्ने जस्ता सम्हाल्नै गाह्रो अवस्थाबाट मुक्त भएको बताउनुभयो ।

यस अघि यहाँ मानिस मरेपछि कुर्नुपर्दा खाल्डो खनेर केराका थामहरू बिछाएर माथिबाट आइसका डल्ला राखेर लास सडनबाट जोगाउने गरेको अर्का स्थानीय टीकाराम चौधरीले बताउनुभयो ।

प्रवासी युवा दिपक विकले स्थानीय युवाहरूले सहयोग जुटाएर दुईवटा मर्चरी च्याम्बर, एकथान डिस्प्ले बोर्ड  र एक थान प्रोजेक्टर खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराइएकाले यसलाई सबैले सहज रुपमा उपयोग गर्ने व्यवस्था गर्न सुझाव दिनुभयो ।

साथै धनसिंहपुरका १५ जना विपन्न परिवारलाई प्रतिपरिवार २५ किलो चामल, दाल तेल लगायतका खाद्यान्न सामग्री पनि वितरण गरिएको छ ।

स्वास्थ्य चौकीका अध्यक्ष दीर्घबहादुर ठकुल्लाले रोजगारीका लागि विदेशिएर पनि आफू जन्मेको माटो र घरलाई सम्झेर सहयोग गर्ने युवाहरु र तिनका परिवारलाई धन्यवाद दिनुभयो।यी सामग्रीले टीकापुर नगरपालिका र छिमेकी पालिकालाई  समेतसहयोग पुग्ने ठकुल्लाले बताउनुभयो । 

अब यो च्याम्बर विद्युत सेवा भएको घरैमा लगेर लास सुरक्षित रुपमा राख्न सकिनेछ । यहाँका ४४ जना परदेशी युवाहरूबाट सङ्कलन भएको चार लाख २५ हजार रूपियाँबाट सामानहरु खरिद गरिएका र १९ हजार रुपियाँ बचत रहेको गोविन्द चौधरीले बताउनुभयो । कार्यक्रममा आर्थिक सहयोग गर्ने युवा तथा तिनका परिवारलाई दोसल्ला ओडाइ प्रमाणपत्र दिएर सम्मान गरिएको छ । 

विभिन्न देशमा बसोबास गर्ने युवाले पाँच वर्ष अघि स्थापना गरेको धनसिहपुर प्रवासी युवा समितिले २०७८ सालमा स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराएको थियो । 

टीकापुर अस्पतालबाट १६ किलोमिटर टाढाको धनसिंहपुर स्वास्थ्य चौकीमा रहेको  सो एम्बुलेन्सबाट हालसम्म ४६८ जनाले सेवा लिइसकेका स्वास्थ्य चौकी प्रमुख यमबहादुर शाहले बताउनुभयो ।