• ५ फागुन २०८२, मङ्गलबार

मुसहर समुदायले मदिरा बिक्री–वितरण बन्द गर्ने उम्मेदवारलाई मत दिने

blog

विष्णुपुर गाउँपालिका–६ का मुसहर समुदायका महिलाहरू आफ्नो समस्या सुनाउँदै। तस्बिर : सुधा देव

सुधा देव
भारदह (सप्तरी), फागुन ५ गते ।
विष्णुपुर गाउँपालिका–६, गोरगामाका मुसहर समुदायले रक्सी बिक्री बन्द गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन्। मुसहर समुदायमा अत्यधिक मदिरा सेवनका कारण सामाजिक र आर्थिक समस्या बढ्दै गएको भन्दै रक्सी बिक्री–वितरणमा रोक लगाउने उम्मेदवारलाई मत दिने निर्णय गरिएको स्थानीय ५० वर्षीया कुमीदेवी सदाले बताउनुभयो।

“मुसहर समुदायको विकासमा सबैभन्दा ठुलो बाधक रक्सी बनेको छ,” उहाँले भन्नुभयो, “दिनभरि मजदूरी गरेर कमाएको पैसा बेलुकी रक्सीमै सकिने प्रवृत्तिका कारण जीवनस्तर उकास्न सकेका छैनौँ। त्यसैले रक्सीमा रोक लगाउने उम्मेदवारलाई मतदान गर्ने योजना बनाएका छौँ।”

स्थानीयका अनुसार बस्ती नजिकै एक दर्जनभन्दा बढी रक्सी पसल सञ्चालनमा छन्। ६४ वर्षीया आशोदेवी सदाले पसल बन्द नभएसम्म समस्या समाधान नहुने बताउनुभयो। “घरका पुरुषहरूलाई रोक्न खोज्दा पनि विभिन्न बाटोबाट रक्सी किनेर ल्याउँछन्,” उहाँले भन्नुभयो।

उहाँका अनुसार विगत पाँच दशकमा धेरै चुनाव भए, नेताहरू फेरिए, आश्वासन र प्रतिबद्धता पनि धेरै आए, तर मुसहर समुदायको अवस्था भने फेरिन सकेको छैन। “रक्सी बिक्री–वितरण बन्द गरी हाम्रो अवस्था परिवर्तन गर्ने उम्मेदवारलाई नै मत दिन्छौँ,” उहाँले स्पष्ट पार्नुभयो।

घरका अभिभावकले दिनहुँ कमाएको रकम रक्सीमै खर्च गर्दा काममा नजाने दिन परिवार भोकै बस्नुपर्ने अवस्था आउने गरेको स्थानीयको भनाइ छ। छोराछोरीको शिक्षामा खर्च गर्न नसकिएको र नयाँ पुस्तामा समेत रक्सी सेवनको प्रवृत्ति बढ्दै गएको उनीहरूले बताएका छन्।

यस वडामा करिब दुई सय घरधुरी रहेको र रक्सीका कारण प्रत्येक वर्ष दुईदेखि चार जनासम्मको मृत्यु हुने गरेको वडाका पूर्व अध्यक्ष बहादुर सदाले जानकारी दिनुभयो। नेपाल सरकारले रक्सी बिक्री–वितरण नियन्त्रण गर्न नसके मुसहर समुदायको समस्या समाधान नहुने उहाँको भनाइ छ।