राजकुमार भट्टराई
खोटाङ, फागुन ४ गते । जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोधका रूपमा रहेको महभिर फोड्ने सुरु भएको छ । महभिरमा ठुलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन । उक्त चट्टान फोडेर सडक जोड्नका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भएर ठेक्का लागेपछि काम सुरु भएको हो ।
मन्त्रालयका निवर्तमानमन्त्री भूपेन्द्र राईका अनुसार मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ मा दुई करोड रुपियाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा ठेक्का प्रव्रिmयाबाट श्री कमला कस्ट्रक्सन एन्ड सप्लायर्स उदयपुरले एक करोड सात लाख ७७ हजार ८४७ रुपियाँमा निर्माण सम्झौता गरेको पूर्वाधार कार्यालय खोटाङका लेखा प्रमुख सीताराम राउतले बताउनुभयो ।
दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेलबाट तराईका जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो दुरीको सडक हो तर निर्माणाधीन सडकलाई जोड्नका लागि राजापानीस्थित महभिर बाधक बन्दै आएको छ । दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–४, खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११, राजापानीको महभिरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट महभिरसम्म ट्र्याक खोलिएको छ । महभिरमा ठुलो चट्टान भएकाले विकल्पका रूपमा राजापानीस्थित पुरानो गाउँहुँदै रेग्मीटारको सडक प्रयोग हुँदै आएको छ । सिधा सडक जोड्न महभिर बाधक भएकाले हाल उक्त सडक खासै प्रयोग भइरहेका छैनन् ।
दिक्तेल–महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकभन्दा खानीडाँडा–आहाले–रेग्मीटार सडक करिब २५ किलोमिटर छोटो रहेको छ । जस कारण जिल्ला सदरमुकामबाट तराई जोड्ने सबैभन्दा छोटो दुरीको सडकको ट्र्याक सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको मन्त्री राईले बताउनुभयो । सोही अनुसार ठेक्का प्रव्रिmया पूरा भएर सडक खन्ने काम पनि सुरु भइसकेको छ ।
महभिरमा रहेको चट्टान फोडेर खनिसकेको पुरानो बाटो पनि सफा गर्ने गरी ठेक्का लागेको भौतिक पूर्वाधार कार्यालयका लेखा प्रमुख राउतले बताउनुभयो । यही वर्षबाट सबैभन्दा छोटो दुरीको सडक सुरुवात हुने उहाँको भनाइ छ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा तराई यात्रा गर्न, जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने छ ।
बाह्रै महिना सडक सञ्चालनका लागि अवरोध गर्ने दिखुवाखोलामा पक्की पुल निर्माण भइरहेको छ । दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–४, खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवाखोलामा पुल निर्माणका लागि गत जेठमै शिलान्यास भएको थियो । प्रदेश सडक पुल सहयोग एकाइ इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय खोटाङको साझेदारीमा दिखुवाखोलामा ट्रस्ट ब्रिज पुल बन्न लागेको हो ।