• ४ फागुन २०८२, सोमबार

चुनावी मुद्दा बनेको सडक अझै अधुरै

blog

बर्दियाको आम्बासा–तेलपानी सडक देखाउँदै स्थानीय

बबई समाचारदाता

बबई (बर्दिया), फागुन ४ गते । वडा सदस्यमा लड्ने व्यक्तिदेखि लिएर प्रतिनिधि सभा निर्वाचनसम्मका हरेक चुनावमा सबैका एजेन्डा बन्ने गरेको आम्बासा–तेलपानी हुँदै सुर्खेत जोड्ने सडक बन्न सकेको छैन । करिब पाँच दशकदेखि निर्माणको प्रतीक्षामा रहेको ४६ किलोमिटर सडक राजनीतिक दलहरूको घोषणापत्रमा दोहोरिएर आउने गरेको छ तर सडकको विषय भने कहिल्यै प्राथमिकतामा पर्न सकेको छैन । 

स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका बेला हरेक दलका उम्मेदवारले सडक निर्माणलाई प्राथमिकतामा राख्ने वाचा गर्छन् । निर्वाचन सकिएपछि भने निकुञ्ज क्षेत्रको बहाना देखाउँदै योजना अलपत्र छाड्ने गरेको स्थानीयको गुनासो छ ।

आम्बासा–तेलपानी २० किलोमिटर र तेलपानीदेखि सुर्खेतको वीरेन्द्रनगर चोकसम्म २६ किलोमिटर गरी कुल ४६ किलोमिटर दुरीको यो सडक निर्माण नहुँदा बर्दियालाई पहाडी जिल्ला सुर्खेतसँग सिधा सम्पर्क जोड्न कठिन भएको छ । अहिले स्थानीय करिब १५० किलोमिटर घुमाउरो बाटो हुँदै कोहलपुरबाट सुर्खेत पुग्न बाध्य छन् ।

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले पुनः यही सडकलाई चुनावी मुद्दा बनाएका छन् । बर्दिया–२ का नेकपा उम्मेदवार सुरेश पन्तले आम्बासा–तेलपानी सडक बर्दियाको समग्र विकासका लागि रणनीतिक महत्वको हुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेलले निकुञ्ज क्षेत्रभित्र पर्ने सडक निर्माण गर्दा वन्यजन्तुलाई असर नपर्ने गरी ‘ओभरपास’ जस्ता संरचना निर्माण गरेर अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ ।

सुर्खेततर्फको खण्डमा सडक निर्माण भई ग्राभेलसमेत सम्पन्न भइसकेको छ । बर्दिया खण्ड अन्तर्गत तेलपानीदेखि आम्बासासम्मको २० किलोमिटर सडक भने जीर्ण अवस्थामा छ । त्यसमध्ये करिब आठ किलोमिटरमा हिउँदमा मात्र साना सवारीसाधन सञ्चालन हुन्छन् भने बाँकी १२ किलोमिटर सडक स्थानीयले पैदलै हिँड्नुपर्ने अवस्था छ ।