• ४ फागुन २०८२, सोमबार

आश्वासन मात्रै दिएको गुनासो

blog

अविनाश चौधरी 

धनगढी, फागुन ४ गते । कैलालीको धनगढीमा रहेको रानाथारू बस्तीका मतदाताले हरेक निर्वाचनमा नेताबाट आश्वासन मात्रै पाएको गुनासो गरेका छन् ।  बस्तीमा बाटोघाटो र कुलो निर्माण गर्ने भनेर नेताले आश्वासन दिँदै आएको उनीहरूको गुनासो छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर–७, ८, १०, ११ लगायतका वडामा रानाथारू बस्ती रहेको छ । गाउँमा बाटो, कुलोलगायत पूर्वाधारदेखि लिएर विभिन्न क्षेत्रमा समस्या रहेका छन् । 

गाउँमा भएको समस्या समाधान गर्ने भनेर दल र नेताले हरेक चुनावमा आफ्नो समुदायको भोट बटुल्दै आए पनि जितेर गएपछि समस्या समाधानतिर ध्यान नदिने गरेको सो समुदायका मानिसको गुनासो छ । धनगढी उपमहानगरपालिका–७, मनेहरागाउँका विवेक रानाले भन्नुभयो, “नेताले आएर यो गर्ने, त्यो गर्ने भनेर भोट माग्छन् तर जितेर गएपछि भनेको काम गर्दैनन् । खाली झुटो आश्वासन मात्रै दिने गरेका छन् ।” उहाँले आफ्नो गाउँमा कुलो र सडकको समस्या रहेको उल्लेख गर्नुभयो । गाउँको मुख्य सडक अहिलेसम्म बन्न नसकेको रानाको गुनासो छ । 

मनेहरा–भुइँयाघाट जोड्ने सडक धेरै ठाउँमा बिग्रिएको छ । सोही सडकको मनेहरागाउँ खण्डमा राम्रो बाटो छैन । कालोपत्रे सडक निर्माण गर्नका लागि बजेट उपलब्ध गराउने आश्वासन दिएर नेताले विगतको चुनावमा भोट मागे पनि जितेर गएपछि बिर्सेको स्थानीय चमरु रानाले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट उपलब्ध गराउने भनेका थिए, तर अहिलेसम्म सडक निर्र्माणका लागि बजेट आएन । बजेट नभएर सडक बनेको छैन ।” 

सडक निर्माणका लागि डिपिआर भए पनि काम नभएको स्थानीयको गुनासो छ । यसै गरी भुइँयाघाट–धनगढीगाउँ जोड्ने कृषि सडक पनि बेहाल अवस्थामा छ । २०७४ सालको निर्वाचनदेखि चुनावी मुद्दा बन्दै आएको यो सडक बिग्रेको कैयौँ वर्ष भइसकेको छ । नेताले सडक बनाउने भनेर भोट मागे पनि काम नभएको मनहेराकै वीरमति रानाले गुनासो गर्नुभयो । 

कैलालीको क्षेत्र नम्बर ५ मा रानाथारू समुदाय निर्णायक मानिन्छ । बस्तीमा विकासका लागि प्राथमिकता दिने उम्मेदवारलाई भोट दिने यो समुदायका मतदाताको भनाइ छ ।