सुर्खेत समाचारदाता
सुर्खेत, फागुन ४ गते । स्वास्थ्यकर्मी अनिता थापा बिहेपछि श्रीमान्को घर हुम्ला जानुभयो । घरमा महिनावारी भएपछि उहाँलाई सकस भयो । उहाँ घरभित्र बस्न चाहे पनि देवीदेवता रिसाउने र अनिष्ट हुने डर देखाउँदै परिवारले छाउगोठमा बस्न आग्रह ग¥यो । उहाँले मान्नुभएन । बाहिर कसैलाई घरभित्र बसेको थाहा नदिने र बाहिर ननिस्कने सर्तमा उहाँ महिनावारी हुँदा घरभित्रै बस्नुभयो । घरमा बस्दा उहाँको घरमा सर्प आयो ।
परिवारले छाउ हुँदा घरभित्र बस्दा देवता रिसाएर सर्प आएको भन्ने आरोप उहाँलाई लगाइयो । छाउ हुँदा घरभित्र बस्नु हुँदैन, देवीदेवता रिसाएर अनिष्ट हुन्छ भन्ने त्रास देखाएर घरबाहिर बस्न बाध्य बनाउने गरिन्छ । करिब चार/पाँच वर्षसम्म त्यही एउटा कुरालाई लिएर मानसिक तनाव भोग्नुपरेको उहाँले बताउनुभयो । आफू स्वास्थ्यकर्मी हुँदा त छाउका कारण यतिसम्मको तनाव भोग्नुपरेको भन्दै उहाँले सामान्य महिला तथा किशोरीले कति तनाव भोग्नु पर्छ होला भन्ने चिन्ता व्यक्त गर्नुभयो ।
सुर्खेतमा आयोजित मर्यादित महिनावारीसम्बन्धी कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी अनिताले आफूले भोगेको अवस्थाबारे जानकारी गराउनुभयो । उहाँले छाउलाई धर्म र समाजसँग जोड्दा त्यसको प्रत्यक्ष असर किशोरी र महिलाले भोग्नुपरेको बताउनुभयो । गाउँमा छाउविरुद्धको सचेतना धामीझाँक्री र अगुवालाई दिनुपर्ने सुझाव उहाँले दिनुभयो । छाउ हुँदा घरबाहिरको बसाइ निकै जोखिमपूर्ण हुने गर्छ । घरबाहिरको गोठमा बस्दा जङ्गली जनावर तथा सर्पको डर हुनुका साथै बलात्कृत हुनेसम्मको त्रास हुन्छ भने घरभित्र देवताको डरले सधैँ तनाव भोग्नुपरेको पीडित बताउँछन् ।
विद्यालयमा अध्ययनरत किशोरीले अझै पनि महिनावारी हुँदा छुन नहुने, अलग्ग बस्नुपर्ने अवस्था अझै रहेको गुनासो गर्छन् । सामाजिक कार्यकर्ता माया सापकोटाले ग्रामीण क्षेत्रमा महिनावारी हुँदा किशोरी र महिलाले शारीरिक, मानसिक तनाव भोग्नुपर्ने अवस्था अझै रहेको बताउनुहुन्छ । उहाँले मर्यादित महिनावारीबारेमा अझै पनि सचेतना दिन नसकिएको जानकारी दिँदै अब त्यसका बारेमा जानकारी दिन ढिला गर्न नहुने उल्लेख गर्नुभयो ।
प्रदेश अस्पताल सुर्खेतमा कार्यरत स्टाफ नर्स एन्जिला थकालीले एउटा महिला तथा किशोरी जीवनभर ६.२५ वर्ष महिनावारी हुने गरेको बताउनुहुन्छ । उहाँले महिनावारी हुनु अशुद्ध होइन भन्दै यस्तो बेला छाउगोठमा नबसालेर घरमै राखी पोसिलो खानेकुरा दिनुपर्ने, स्वस्थ र सफा भएर बस्नुपर्ने र घरपरिवारले सहयोग र साथ दिनुपर्ने बताउनुभयो । उहाँले कानुनले छाउ बसालेको थाहा पाएमा तीन महिना कैद र ५० हजार जरिबाना वा दुवै सजाय हुने प्रावधान रहेको उल्लेख गर्नुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले महिनावारी हुँदा सावधानी र मर्यादित नअपनाउँदा महिला र किशोरीले धेरै जोखिम भोग्नुपरेको बताउनुभयो । उहाँले कर्णालीका महिला तथा किशोरीले भोग्नुपरेको कुप्रथा छाउ भएकाले यसको न्यूनीकरणका प्रयास पनि जारी रहेको र त्यसका लागि सचेतना नै प्रमुख अस्त्र भएको जनाउनुभयो । घर बाहिर बस्दा ज्यानको जोखिम, भित्र बस्दा देवताको डर देखाउँदा छाउप्रथा हट्न नसकेको उहाँको भनाइ छ ।
सीमान्तकृत महिलाका लागि महिला संस्था (वाम) सुर्खेतका अध्यक्ष देवी पौडेलले महिनावारी असुरक्षित हुँदा धेरै किशोरी तथा महिलाले ज्यान गुमाउनुपरेको बताउनुभयो । उहाँले अब महिनावारी मर्यादित हुनुपर्ने र यो अवधिमा सरसफाइ तथा पोसिलो खानेकुरा खानुका साथै सबैको सहयोगको अपेक्षाको योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।