• ४ फागुन २०८२, सोमबार

म्याग्दीमा निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन

blog

जिल्ला निर्वाचन कार्यालय म्याग्दी । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, फागुन ४ गते ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीय रुपमा सम्पन्न गर्न म्याग्दीमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको छ ।

सोमबारदेखि राजनीतिक दल र उम्मेदवारले औपचारिक रुपमा प्रचारप्रसार गर्न पाइने भएकाले त्यसलाई सभ्य, अनुशासित र व्यवस्थित बनाउन निर्वाचन आचारसहिंताको पूर्ण पालनाका लागि सबै पक्षलाई अनुरोध गरिएको जिल्ला निर्वाचन आचारसहिंता अनुगमन अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो । 

आजबट निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न सक्ने छन् ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन प्रचारप्रसारलाई सभ्य बनाउन दल तथा उम्मेदवारलाई निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको हो ।

राजनीतिक दल र उम्मेदवारको निर्वाचन प्रचारप्रसारलाई अनुशासित र सभ्य बनाउन निर्वाचन आचारसहिंताको पालनालाई पूर्णरुपमा कार्यान्वयन गर्न जिल्ला निर्वाचन आचारसहिंता अनुगमन अधिकृतको कार्यालयले सूचना जारी गरी पालनाका लागि सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।

राजनीति दल र उम्मेदवारले गर्ने निर्वाचन लक्षित जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्नुपूर्व कम्तीमा २४ घण्टा अघि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई मिति, समय र स्थानबारे जानकारी गराउन सचेत गराएका छ ।

आचारसंहिता अनुसार प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गर्न, निषेधित सामग्री प्रदर्शन गर्न, जातीय, धार्मिक वा साम्प्रदायिक सद्भाव बिग्रने अभिव्यक्ति दिन, अन्य दल वा उम्मेदवारप्रति गालीगलौज तथा चरित्रहत्या गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ ।

साथै सामाजिक संघसंस्था, आमा समूह, क्लब, गैरसरकारी संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण, आर्थिक सहायता, चन्दा, पुरस्कार वा भोजभतेरको गर्नसमेत रोक लगाइएको र आचारसहिंताको प्रभावकारी रुपमा अनुगमन गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन आचारसहिंता अनुगमन अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

निर्वाचन प्रचारप्रसारको कार्यक्रम बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । दलको झण्डा तथा चुनाव चिन्ह अंकित तोरण वा संरचना सार्वजनिक स्थलमा राख्न नपाइने, भित्तेलेखन गर्न नपाइने र कुनै पनि धर्मको नाममा प्रचार गर्न नहुने सूचनामा उल्लेख छ ।

निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएमा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ । उजुरी वा गुनासोका लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । म्याग्दीमा अहिले सम्म निर्वाचन आचारसहिंता उल्लङ्घनका उजुरी तथा घटनाहरु नभएको निर्वाचन आचारसहिंता अनुगमन अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।