राजन रावत
हुम्ला, फागुन ४ गते । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मुख्य गरी जिल्लाका ठुला तीन राजनीतिक दलबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । अन्य दल चुनावी मैदानमा भए पनि मुख्य गरी कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच नै प्रतिस्पर्धा हुने देखिएको हो ।
चुनावी प्रचारप्रसारका आधारमा तीन दलबिच नै मुख्य प्रतिस्पर्धा हुने गैरसरकारी संस्था हुम्लाका अध्यक्ष जनकबहादुर बुढाले बताउनुभयो । नेपाली कांग्रेसका जयपति रोकाया, नेपाली कम्युनिस्ट पार्टीका डा. दीपेन्द्र रोकाया र नेकपा (एमाले) का दलबहादुर फडेराबिच चुनावी प्रतिस्पर्धा हुने उहाँको भनाइ छ । विगतदेखि नै जिल्लामा यिनै तीन दलबिच प्रतिस्पर्धा भइरहेको र यस पटक पनि यिनै दलबिच प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो ।
२०७९ सालको प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा हुम्लाबाट तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट छिरिङ डम्डुल लामा (कार्चेन) विजयी हुनुभएको थियो । त्यतिबेला लामा वामलोकतान्त्रिक गठबन्धनबाट विजयी भएको हो । कार्चेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार दल रावलभन्दा चार हजार ८५५ मत बढी ल्याएर विजयी भएको थियो । कार्चेनले १४ हजार ३७१ मत पाउँदा एमालेका रावलले नौ हजार ५१६ मत पाउनुभएको थियो । रावल कर्णाली प्रदेश सरकारको पूर्वसामाजिक विकासमन्त्रीसमेत हुनुहुन्थ्यो । त्यसै गरी उक्त निर्वाचनमा राप्रपाका तेजबहादुर रावतले ३७९ पाउनुभएको थियो । त्यतिबेलाको निर्वाचनमा जम्मा तीन जनाको मात्रै उमेदवारी परेको थियो । उक्त निर्वाचनमा हुम्लामा ३३ हजार ३०८ मतदाता थिए ।
उद्योग वाणिज्य सङ्घ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीले अहिलको माहोल हेर्दा मुख्य गरी तिनै दलबिच चुनावी प्रतिस्पर्धा हुने बताउनुभयो । यिनै दलबिच प्रतिस्पर्धा हुने र विजयी पनि पालोपालो भएका बताउँदै उहाँले यस पटक पनि यिनैमध्ये एउट दल विजयी हुनेमा शङ्का नभएको बताउनुभयो । जिल्लामा यी तीन दलबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीका टासी लाजोम, राष्ट्रिय प्रजातन्त्र प्रजाजन्त्र पार्टी छक्क बुढा, नेकपा माओवादी कुम्भ बुढा र प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्की पनि चुनावी मैदानमा हुनुहुन्छ । यस पटक हुम्ला जिल्लाको मतदाता सङ्ख्या ३४ हजार ३७२ रहेको छ ।
२०४८ देखि २०७४ सालको निर्वाचन नतिजा
२०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि भएका संसदीय निर्वाचनमा हिमाली जिल्ला हुम्लाका जनताले पटक पटक मत परिवर्तन गरेको देखिन्छ । त्यसयताका चुनावमा संयुक्त जनमोर्चा नेपालका उमेदवारदेखि स्वतन्त्रसम्म अनि कांग्रेसका उमेदवारदेखि माओवादी र एमालेसम्मले हुम्लाबाट चुनाव जितेका थिए । २०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि २०४८ सालमा भएको निर्वाचनमा हुम्लाबाट संयुक्त जनमोर्चा नेपालका छक्कबहादुर लामा जम्मा आठ मतले विजयी हुनुभएको थियो । उहाँले चार हजार ६९५ मत पाउँदा उहाँँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चक्रबहादुर शाहीले चार हजार ६८७ र एमालेका गोरखबहादुर बोगटीले चार हजार ६०४ मत पाउनुभएको थियो ।
त्यसपछि २०५१ सालमा कांग्रेसका चक्रबहादुर शाहीले सात हजार ८८७ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार अङ्गबहादुर लामाले छ हजार ९९० मत पाउनुभएको थियो । एमालेका गोरखबहादुर बोगटीले पाँच हजार ७१९ मत पाउनुभएको थियो । २०५६ सालमा एमालेका गोरखबहादुर बोगटी ११ हजार ८७१ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार चक्रबहादुर शाहीले सात हजार ६६२ मत पाउनुभएको थियो । स्वतन्त्र उम्मेदवार वीरजङ्ग शाहीले ९६२ मत प्राप्त गर्नुभएको थियो ।
२०६४ सालमा माओवादीका कर्णजित बुढाथोकी विजयी हुनुभएको थियो । २०७० सालमा कांग्रेसका जीवनबहादुर शाही आठ हजार ३३२ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी एमालेका दल रावलले चार हजार ९३९ मत पाउनुभएको थियो । तेस्रो भएको माओवादीका छक्कबहादुर लामाले चार हजार ७५९ मत पाउनुभएको थियो । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको कोटामा नपरेपछि स्वतन्त्र उम्मेदवार बनेका छक्कबहादुर लामा निर्वाचित हुनुभएको थियो उहाँले आठ हजार ४९१ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मङ्गलबहादुर शाहीले आठ हजार ४४४ मत पाउनुभएको थियो । त्यतिबेला ४७ मतले लामा निर्वाचित हुनुभएको थियो । तेस्रो बनेका माओवादीका छिमी दोर्ची लामाले दुई हजार ८५६ मत पाउनुभएको थियो । त्यतिबेला वाम गठबन्धनको कोटामा लामा नपरेपछि बागी उम्मेदवार बन्नुभएको थियो ।