सन्तोष दहित
दाङ, फागुन ४ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा दाङका मतदातामाझ उत्साह बढ्दो छ । उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् भने मतदाताहरू पनि आफ्नो मताधिकार प्रयोग गर्न आतुर देखिन्छन् । शहरदेखि गाउँसम्म चुनावी सरगर्मी बढेसँगै राजनीतिक संवाद, छलफल र उम्मेदवारप्रति चासो बढ्न थालेको छ ।
चिया चौतारादेखि खेतबारीसम्म उम्मेदवारहरुको विषयमा मतदाहरुले एक आपसमा छलफल गर्न थालेको छन् । गाउँघरमा मत माग्न आउने उम्मेदवाहरुसँग छलफल तथा अन्तरक्रियामा पनि उत्तिकै सक्रियताका साथ मतदाताहरुले छलफल गर्दै आफ्नो गाउँठाउँका समस्या समेत सुनाउदै आएकाछन । घोराही उपमहानगरपालिका ६ पक्वैका बसन्त चौधरी आफुहरु मतदानको लागि उत्साहित मात्र नभई आतुर रहेको बताउनुभयो । “यो चुनाव नेताहरूको लागि मात्र होइन, हाम्रो भविष्य कोर्ने अवसर पनि हो,’’ उहाँले भन्नुभयो, हामी गाउँ, क्षेत्र र समुदायको भविष्य निर्धारण गर्न सक्षम नेतालाई नै मत दिन्छौं ।”
उहाँका अनुसार गाउँमा आउने सबै उम्मेदवारलाई स्वागत गर्ने परम्परा त छँदैछ, तर मत दिने बेला स्वविवेक र जिम्मेवारी बोधका साथ निर्णय गर्ने मनस्थितिमा मतदाता पुगेका छन् । “हामीले उम्मेदवारहरूलाई नजिकबाट हेरिरहेका छौँ, कसले कति काम गर्न सक्छ, कसले गर्न सक्दैन भन्ने बुझ्दैछौँ,’’ उहाँले भन्नुभयो, ‘‘सांसदको भूमिका विकास र नीति निर्माण दुबैमा महत्त्वपूर्ण हुने भएकाले हामी सजग मतदाता बन्न चाहन्छौं ।”
त्यस्तै, घोराही उपमहानगरपालिका वडा नं. ७ का अनिल चौधरी पनि आगामी निर्वाचनप्रति उत्साह बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार विगतमा पनि मतदानमा सहभागी भए पनि यसपालि मतदातामा अझ बढी सचेतना आएको छ । “हामीले पाँच वर्षका लागि मतदान गरेका थियौँ, तर तीन वर्षमै पुनः निर्वाचनमा सहभागी हुनुपर्ने अवस्था आयो । त्यसले केही निराश बनायो, उहाँले भन्नुभयो, तर यसपटक अझ सोच–विचार गरेर मत दिन्छौं ।”
गाउँका चोक–चौतारामा अहिले राजनीतिक बहसहरू चलिरहेका छन् । उम्मेदवारका प्रचार–प्रसारका कार्यक्रमले गाउँमा चुनावी रौनक थपेको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरू फूलमाला र नारासहित मतदातासँग भेटघाटमा व्यस्त छन् । मतदाताहरूले आफ्ना समस्या सुनाउँदै समाधानको अपेक्षा राख्दै आएका छन् । सोही वडाका स्थानीय निम बहादुर चौधरीका अनुसार विगतका अनुभवले अहिले मतदातामा परिपक्वता आएको छ । कसैको प्रभाव वा लोभमा नपरी अबको नेतृत्व रोज्ने मनस्थितिमा पुगेका छन् । चुनावलाई भविष्य निर्माणको अवसरका रूपमा लिँदै मतदाताहरू आफै सक्रिय हुन थालेको उहाँले बताउनुभयो ।
अहिले दाङमा अधिकांस वस्तिमा निर्वाचनको चर्चा हुदै आएको घोराही १० जलौराकी इन्दिरा चौधरीले बताउनुभयो । गाउँघरमा उम्मेदवारहरुको आगमनले नागकिहरुमो उत्साह थपिदै गएको उहाँले बताउनुभयो । “गाउँटोलमा आउने उम्मेदवाहरुको कुरा सुन्ने र सुनाउने क्रम चलिरहेको छ, उहाँले भन्नुभयो, तर, मतदान गर्दा कुन उम्मेदवारलाई गर्ने भन्ने कुरा हामी आफैले स्वविवेक प्रयोग गरेर निर्णय गर्छाै । यदपी मतदानमा सबैको उत्साजनक सहभागिता हुने उहाँको भनाइ थियो ।”
तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा कुल मतदाता चार लाख ३१ हजार ६८६ रहेकाछन । यो वर्षमा दाङको तीन निर्वाचन क्षेत्रमा १५९ मतदान स्थल र ४८२ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले बताउनुभयो ।