• ३ फागुन २०८२, आइतबार

निर्वाचनमा महिलामैत्री वातावरणबारे सर्वेक्षण गर्न आव्हान

blog

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली । फाइल : तस्बिर

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ३ गते । राष्ट्रिय महिला आयोगले निर्वाचनमा खटिएका पर्यवेक्षक तथा सम्वन्धित सबै सरोकारवालाले निर्वाचन महिला, बालबालिकामैत्री वातावरणबारे पनि सर्वेक्षण गर्न आव्हान गरेको छ । 

लैङ्गिकमैत्री समाज निर्माणका लागि स्थापना भएको संस्था हामी दाजुभाई र राष्ट्रिय महिला आयोगद्वारा राजधानीमा आयोजित कार्यक्रममा आयोगले भोट बुथसम्म पुगेर सबै महिलाले भोट दिने अवस्थाका लागि आवश्यक वातावरणबारे महिलामैत्री दृष्टिले  बुझेर पर्यवेक्षकले प्रतिवेदनमा उल्लेख गर्नु हुन आव्हान गरेको हो । 

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले गर्भवती, सुत्केरीलगायत विविध परिस्थीतिमा समेत  भोट हाल्नुपर्ने अवस्था हुने भएकोले भोट बुथ राखिएको स्थानको वातावरण महिलामैत्री छन्, कि छैनन् भन्ने कुराले ठूलो प्रभाव पर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले यस प्रतिनिधी सभा निर्वाचनमा  महिलाले सजिलैसँग आफ्नो भोट हाल्ने अधिकार प्रयोग गर्न पाउने वातावरणका लागि शान्ति सुरक्षाको अवस्था र सामाजिक सद्भाव कार्यान्वयनका लागि सहयोग गर्दै भय रहित तथा शान्तिपूर्ण वातावरण बनाउन सरोकारावाला सबैसँग अनुरोध गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका उप-सचिव सीता अधिकारीले निर्वाचनको सम्वन्धमा गर्भवती, सुत्केरी, अपाङ्गताका अवस्थाका महिलाका सुरक्षा र महिलाले भोग्नुपर्ने जोखिमबारे कार्यपत्र प्रस्तुत गर्दै महिला मतदाताले सजिलै भोट हाल्ने अधिकारको प्रत्याभूतिका लागि बुथ तथा त्यस वरपरको वातावरणले निक्कै प्रभाव पर्ने विचार व्यक्त गर्नुभयो । 

उहाँले यस अगाडि आफु विभिन्न स्थानमा निर्वाचन अधिकृतका रुपमा खटिएर काम गर्दा महिलालाई भोट हाल्ने बुथसम्म पुग्ने राम्रो, सजिलो लाइनको व्यवस्थाले समेत निक्कै सहयोग पुगेको अनुभव सुनाउनुभयो । उपसचिव अधिकारीले धेरै जसो स्थानमा भोट बुथ राख्ने स्थान, साँगुरो हुँदा,  शौचालयको समेत व्यवस्था गर्दा अपनाउनुपर्ने महिला, बालबालिकामैत्री व्यवस्थाले भोट हाल्ने समयमा सहयोग पुग्ने भएकोले निर्वाचनको समयमा पर्यवेक्षणमा खटिएका सर्वेक्षकले आफू खटिएको स्थानमा महिलामैत्री वातावरण छ कि छैन भन्ने विषयमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।