• ३ फागुन २०८२, आइतबार

आशा जगाउने नौमुरे जलविद्युत्

blog

नौमुरे जलविद्युत् आयोजनाको बाँधस्थल ।

अर्घाखाँची समाचारदाता

अर्घाखाँची, फागुन ३ गते । अर्घाखाँची र प्युठानको सिमानामा रहेको नौमुरे जलविद्युत् आयोजना बर्सौंदेखि अलपत्र अवस्थामा रहेको छ । निर्वाचनको बेला विशेष प्राथमिकता पर्ने नौमुरे योजना चुनावपछि भने खासै चासोमा पर्ने गरेको छैन । निर्वाचनको समयमा हरेक दलका उम्मेदवारले जोडतोडका साथ नौमुरे जलविद्युत् आयोजनालाई चुनावी नारा बनाउने गरेका छन् । चुनावपछि भने खास चासोमा पर्ने गरेको छैन ।

तीन महिना लामो समय खर्चेर २०४३ सालमा सर्वेक्षण गरिएको नेपालकै नमुना नौमुरे जलविद्युत् परियोजना अहिलेसम्म पनि सञ्चालनमा आउन नसक्दा बेवारिसे बनेको छ । अर्घाखाँचीबाट चुनाव जितेर टोपबहादुर रायमाझी ऊर्जामन्त्री भएका बेला उहाँले शीतगङ्गा नगरपालिका–७, लामातालमा नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटनसमेत भएको थियो । 

त्यतिबेला कार्यालयमा कर्मचारी पनि आए तर अहिले कार्यालय सञ्चालनमा मात्र रहेको छ । चुनावका बेला नौमुरे जलविद्युत् आयोजना सञ्चालन गर्ने र रोजगारी सिर्जना गर्ने आश्वासन बाँडे पनि सत्तामा पुगेपछि यसतर्फ कसैको ध्यान पुग्न नसकेको स्थानीयवासी झकबहादुर राउतको गुनासो छ ।

२०४३ देखि २०७९ सम्मका निर्वाचनमा सबै उम्मेदवारले नौमुरेबाट विद्युत् उत्पादन गरेर सयौँलाई रोजगारी दिने मिठा सपना बाँड्दै आएका छन् । प्युठानको सरुमारानी–३ र अर्घाखाँचीको शीतगङ्गा–८ को सिमानामा आयोजना निर्माण स्थल छ । यही फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेकाले नौमुरेको काम अगाडि बढाउने आश्वासन बाँड्न थालेका छन् । बजेट र जनशक्ति अभावमा काम सुस्त छ । चालु आव ११ मा करोड रुपियाँ विनियोजन गरिएको छ ।

राप्तीमा पुल निर्माण, झिलिबाङ–दराबाङ पहुँचमार्ग निर्माणमा उक्त बजेट खर्च हुने आयोजनाका निमित्त प्रमुख पवन अधिकारीले बताउनुभयो । यसअघि जलाशय, डाइभर्सन, वातावरणीय अध्ययनको काम सकिएको छ । अहिले काम अघि बढाउन बजेट र जनशक्ति अभाव रहेको उहाँले बताउनुभयो । 

आयोजनामा ३२ जनाको दरबन्दी रहेपनि अहिले दुई जना इन्जिनियर, दुई सहायक कर्मचारी र आयोजना प्रमुख मात्र छन् । कार्यालयका अनुसार चालु आवका लागि एक अर्ब बजेट माग गरिए पनि ११ करोड रुपियाँ मात्रै सङ्घीय सरकारले छुट्याएको छ । यो बहुउद्देश्यीय आयोजना भएकाले विद्युत् उत्पादनसँगै दाङ, कपिलवस्तु र बाँकेमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । 

प्युठानको सरुमारानीमा विद्युत्गृह निर्माण गर्ने र अर्घाखाँचीको लामातालमा बाँध निर्माण गरेर ८८ मेगावाट बिजुली उत्पादन गर्न सकिने आयोजनाको पछिल्लो अध्ययन प्रतिवेदनमा उल्लेख छ । नौमुरको पानीले कपिलवस्तुमा २९ हजार ७३६, बाँकेमा ४२ हजार ७६६ र दाङको देउखुरीमा १० हजार आठ सय हेक्टरमा सिँचाइ पु¥याउने लक्ष्य राखिएको छ । सरकारले ‘एक प्रदेश एक जलाशाययुक्त’ क्षेत्र पनि घोषणा गरेको थियो । लुम्बिनी प्रदेशको नौमुरेलाई जलाशाययुक्त बनाइएको छ । यही अधुरो आयोजना देखाएर यस पटक पनि उम्मेदवारले घरदैलो, चुनावी सभामा भोट मागिरहेका छन् । अर्घाखाँचीबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनालले नौमुरेबाट विद्युत् उत्पादन गर्नसके मुलुकमै ऊर्जा क्षेत्रमा ठुलो टेवा पुग्ने भएकाले आफूले महत्वका रूपमा लिएको बताउनुभयो ।

एमालेबाट अर्घाखाँचीका उम्मेदवार पीताम्बर भुसालले विगतमा एमालेबाट निर्वाचित प्रतिनिधिबाट धेरै काम गरिएको अधुरा काम थप पहल गर्ने बताउनुभयो । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामबहादुर चौहानले सङ्घीय सरकारबाट बजेट विनियोजन गर्ने काममा आफू लाग्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसालले जिल्लाका सबै बहुप्रतिष्ठित योजना निर्माण आफ्नो मुख्य प्राथमिकतामा रहने बताउनुभयो ।