• ३ फागुन २०८२, आइतबार

निर्वाचन बहिष्कार गर्नेसम्मको चुनौती

‘आश्वासन मात्रै दिनेलाई भोट दिन्नौँ’

blog

दार्चुलाको नागुगाउँ । तस्बिर : सामाजिक सञ्जाल

कृष्णबहादुर धामी

खलङ्गा (दार्चुला), फागुन ३ गते । नौगाड गाउँपालिका–१, नागुका लालसिंह डडाल, ठगेन्द्रसिंह जुहारी, सुशीला डडाललगायतले २०६४ सालदेखि निरन्तर रूपमा हरेक निर्वाचनमा मतदान गर्दै आउनुभएको छ । नौगाडवासीले यसपालिको निर्वाचनमा सहभागी नहुने तथा कुनै पनि नेतालाई भोट नदिने निर्णय गरेका छन् । २०६४ सालमा तत्कालीन माओवादीका नेता लक्ष्मणदत्त जोशी, २०७० र २०७४ सालमा एमालेका गणेशसिंह ठगुन्ना र २०७९ सालमा कांग्रेसका दिलेन्द्रप्रसाद बडूलाई भोट दिएर जिताएको लालसिंह डडालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले दिएको मतले जितेर गएका नेताले आश्वासन मात्रै दिए, हाम्रा दुःख र समस्या जस्ताका त्यस्तै छन् । यो पालि झुटा आश्वासन दिने नेतालाई भोट दिन्नौँ ।” स्थानीय ठगेन्द्रसिंह जुहारीले भन्नुभयो, “हिँड्न गोरेटो बाटोसमेत राम्रो छैन ।” अप्ठ्यारो बाटोका कारण गाउँसम्म सामान ढुवानी गर्दा कैयौँ घोडा तथा खच्चड भिरबाट लडेर बर्सेनि मर्ने गरेको उहाँले सुनाउनुभयो । 

बाढीले झोलुङ्गे पुल बगाउँदा पाँच मिनेट लाग्ने बाटो अहिले एक घण्टाभन्दा धेरै हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय नरेन्द्रबहादुर बमले बताउनुभयो । सो गाउँमा फोनसमेत राम्रोसँग नचल्ने गरेको उहाँले दुःखेसो गर्नुभयो । सडक नहुँदा यहाँका स्थानीयले पाँच घण्टा हिँडेर पिठिउँमा बोकेर खाद्यान्न घरसम्म पु¥याउने गर्नुभएको छ । 

नागुवासीको सडक निर्माणको माग सम्बोधन नभएसम्म मतदानमा सहभागी नहुने अडान यथावत् छ । विकासमा पछि परेको भन्दै आगामी फागुन २१ गतेको निर्वाचन बहिष्कार घोषणा गरेका नागुवासीले दल र तिनका उम्मेदवारले विकासनिर्माणमा लिखित प्रतिबद्धता नगरेसम्म निर्वाचनमा भाग नलिने अडान राख्नुभएको छ । राजनीतिक दल र तिनका उम्मेदवारले नागुक्षेत्रको सडकलगायतका विकासनिर्माणका कार्य पूरा नगरेसम्म मतदानमा सहभागी नहुने निर्णय यथावत् राख्ने सङ्घर्ष समितिका संयोजक करनसिंह डडालले बताउनुभयो । 

यता राजनीतिक दलका उम्मेदवारले भने नागुवासीलाई निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ । एमाले दार्चुलाका उम्मेदवार तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले नागुवासीलाई मतदान प्रक्रियामा सहभागी भई आफ्नो पार्टी र उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ । नागुगाउँमा सडक पु¥याउन आफ्नो पार्टीले प्रदेश गौरवको आयोजनाका रूपमा नागु–तुसारपानी–सीना सडकलाई अघि बढाएको उहाँले बताउनुभयो । 

२०७९ सालमा आफू पराजय भएका कारण सडकले पूर्णता पाउन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकको ५० प्रतिशत काम भएको छ, मैले जिते यो सडकलाई सङ्घीय सरकार अन्तर्गत लगेर बजेट व्यवस्थापन हुन्छ ।” मेरो पराजयपछि जिल्लाको विकासपछि प¥यो उहाँले थप्नुभयो । एमाले पार्टीले नागुवासी मतदातालाई भेट्न जाने गरी तयारी गरिरहेको पनि उहाँले बताउनुभयो । 

कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले नागुवासी जनताले उठान गरेका समस्या जिल्लाकै सन्दर्भमा यथार्थ समस्या भएको बताउनुभयो । यो निर्वाचन नयाँ पुस्ताले मागेको निर्वाचन भएको भन्दै उहाँले मतदानमा सहभागी हुन सबै जनतालाई आग्रह गर्नुभएको छ । निर्वाचनपछि गठन हुने सरकारले सुशासन, पारदर्शिता, जवाफदेहिता र विकासनिर्माणलाई पहिलो प्राथमिकतामा राख्ने भन्दै उहाँले सुनौलो मौका नगुमाउन मतादातालाई आग्रह गर्नुभएको छ । स्थानीयका माग जायज रहेको भन्दै उहाँले योजनाबद्ध रूपमा सबै समस्याको सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाउनुभएको छ । कांग्रेस पार्टीका उम्मेदवार जोशीको नेतृत्वको टोली ९/१० गतेतिर नागु जाने तयारीमा छ । नेकपा उम्मेदवार लक्ष्मणदत्त जोशीले पनि नागुवासीले उठान गरेको समस्यालाई गम्भीरताका साथ लिएको र ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले लोकतान्त्रिक प्रक्रियामा सहभागी भई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचन जितेमा बजेट निर्माणका बेला नागु जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धतासमेत गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्त पनि नागुवासीलाई गोप्य मतदानमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ । मतदाताका माग सम्बोधन गर्ने प्रतिबद्धतासहित नागुवासीलाई भेट्न जाने पार्टीको तयारी रहेको उहाँले जानकारी दिनुभयो । 

राप्रपा दार्चुलाका उम्मेदवार राजेश चन्दले पनि अमूल्य मत खेर नफाल्न नागुवासीलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “नागुवासीका वास्तविक समस्या मैले बुझेको छु, राप्रपा समस्या सामाधान गर्ने ठाउँमा पुग्यो भने नागुवासीका समस्यालाई प्राथमिकतामा राखेर काम गर्छौं ।” गौरीशङ्कर मावि मतदान केन्द्र नागुमा जम्मा ६०२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकृत प्रदीपसिंह धामीले जानकारी दिनुभयो ।  

प्रजिअको आग्रह 

यसैबिच नागुवासीलाई दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले मतदान प्रक्रियामा सहभागी भएर आफूलाई मन परेको उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको छ । यहाँका बासिन्दाले मतदान प्रक्रियामा सहभागी नहुने मतदान नगर्ने निर्णय गरेपछि पहिलो पटक स्थानीयका बुझ्न तथा नागरिकता, स्वास्थ्य, पशुलगायतको निःशुल्क शिविर लिएर नागुगाउँ पुग्नुभएका प्रजिअ पौडेलले नागरिकका लागि संविधानमै व्यवस्था गरिएको मतदानको अधिकार प्रयोग गर्न आग्रह गर्नुभएको हो । 

स्थानीयका समस्या सुनेपछि प्रजिअ पौडेलले समस्या सामाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभएको छ साथै उहाँले स्थानीयलाई आफ्ना माग सम्बोधन हुने गरी आफ्ना जनप्रतिनिधिलाई चुन्न आग्रह गर्नुभएको छ । प्रजिअ पौडेलले भन्नुभयो, “राज्यका तर्फबाट मतदातालाई निर्वाचनमा सहभागी हुन आग्रह गरिएको हो, यो राज्यको कर्तव्य हो । मतदाता सहमतिमा नआउन्जेलसम्म राज्यका तर्फबाट प्रयास गर्ने हो ।” 

नागु जोड्ने सडकमा छैन बजेट

नौगाड गाउँपालिका–१, नागुक्षेत्र जोड्ने दल्लेख–नागु सडकमा चालु आर्थिक वर्षमा बजेट नै छैन । प्रदेश सरकार अन्तर्गत रहेको यो सडकमा गत वर्षसम्म बजेट विनियोजन भए पनि यो वर्ष बजेट छैन । बजेट नै काटिएपछि स्थानीय झन् आक्रोशित भएको नागु विकास सङ्घर्ष समितिका संयोजक करनसिंह डडाल बताउनुभयो । दल्लेखबाट सुन्डमुन्डगाउँ हुँदै नागुक्षेत्र जोड्ने र नागुभन्दा अगाडि सिद्धटोपी–थाइसैन हुँदै व्यास गाउँपालिका–२, सिना पु¥याउने गरेर सडक बन्नुपर्ने हो । यहाँ पुगेपछि यो सडकले महाकाली कोरिडोरसँग जोड्ने लक्ष्य थियो । जिल्ला विकास समितिको संरचना हुँदादेखि नै दल्लेख सडक निर्माण थालनी भएको पाइन्छ । यो सडक आव २०७६/७७ मा प्रदेश सरकारले जिम्मा लिएको हो । प्रदेश सरकारले आव २०७६/७७ मा नौगाड गाउँपालिका–२ दल्लेखदेखि सुन्डमुन्ड हुँदै पिनातोलीसम्मको १२ किलोमिटर लामो सडकखण्डको डिपिआर तयार गरेको थियो । 

खाद्यान्न ढुवानी सुरु 

सडक सञ्जालले नजोडिएको नागुक्षेत्रमा सरकारले खाद्यान्न ढुवानी सुरु गरेको छ । स्थानीयले आफ्ना माग सम्बोधन नभए निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएपछि सरकारले यो क्षेत्रमा खाद्यान्न पठाउन थालेको हो । स्थानीयवासीले माघ १ र १७ गते बसेको भेलाबाट खाद्यान्न, सडक, विद्यालय र झोलुङ्गे पुललगायतका माग राख्दै निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै माघ १८ गते जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कश्यप) नेतृत्वको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले नागु क्षेत्रमा खाद्यान्न ढुवानी गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार हाल नागुक्षेत्रमा खाद्यान्न ढुवानी भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय दार्चुलाका प्रमुख हर्कराज उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार वडा नं. १ का लागि एक हजार क्विन्टल खाद्यान्न ढुवानी सुरु गरिएको छ ।