ललित बसेल
सुर्खेत, फागुन ३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा ११ जना नयाँलाई उम्मेदवार बनाएको छ । दैलेख क्षेत्र नं. २ मा कांग्रेसका दिक्पालकुमार शाही मात्र दोहोरिनुभएको छ । उहाँबाहेक सबै नयाँ उम्मेदवार छन् । सुर्खेतका दुई निर्वाचन क्षेत्र, दैलेख–१, मुगु, हुम्ला, जुम्ला, कालीकोट, सल्यान, रुकुमपश्चिम, डोल्पा र जाजरकोटमा कांग्रेसले नयाँ अनुहारलाई उम्मेदवार बनाएको कांग्रेस कर्णाली प्रदेश प्रचारप्रसार समितिले जनाएको छ ।
सुर्खेत–१ मा विष्णुबहादुर खड्का, सुर्खेत–२ मा नारायण कोइराला, हुम्लामा जयपति रोकाय, सल्यानमा केशबहादुर विष्ट, रुकुमपश्चिममा राजु केसी, मुगुमा खड्कबहादुर शाही, डोल्पामा कर्णबहादुर बुढा, जुम्लामा दीपबहादुर शाही, कालीकोटमा हर्षबहादुर बम र जाजरकोटमा खड्कबहादुर बुढा कांग्रेसबाट उम्मेदवार हुनुहुन्छ । दैलेख–१ का बासना थापा कांग्रेसले प्रदेशमा उठाएको एक मात्र महिला उम्मेदवार हुनुहुन्छ । कांग्रेस कर्णाली प्रदेश प्रचारप्रसार समितिका संयोजक गोविन्द कोइरालाले यस पटक कर्णालीका १२ वटा निर्वाचन क्षेत्रमा ११ जना नयाँ उम्मेदवारलाई मौका दिएकाले कांग्रेसले जित्ने आधारमध्ये नयाँ अनुहार पनि एक भएको जिकिर गर्नुभयो । यस पटक कांग्रेसको नयाँ नेतृत्व आएपछि कर्णालीमा पनि धेरै जसो युवा, नयाँ अनुहारलाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएको उहाँले बताउनुभयो । नयाँ, कुनै पनि अप्रिय गतिविधिमा नमुछिएका, बौद्धिक युवालाई उम्मेदवार बनाएको हुँदा कांग्रेसले यस पटक अघिल्लो निर्वाचनको तुलनामा आफ्नो पकड अझ बढाउने दाबी उहाँले गर्नुभयो ।
२०७९ सालको निर्वाचनमा कांग्रेस र तत्कालीन नेकपा माओवादीबिच गठबन्धन भएकाले १२ निर्वाचनमध्ये कांग्रेसले सुर्खेतका दुवै निर्वाचन क्षेत्र, दैलेख–२ र मुगु जिल्ला गरी चार वटा निर्वाचन क्षेत्रमा विजयी भएको थियो । तत्कालीन माओवादीले चार निर्वाचन क्षेत्र, तत्कालीन एकीकृत समाजवादीले तीन र राप्रपाले एक क्षेत्र जितेका थिए भने नेकपा (एमाले) शून्य भएको थियो ।
यस पटक नयाँ उम्मेदवार भएको हुँदा अघिल्लो पटकको तुलनामा बढी क्षेत्रमा विजयी हुने दाबी कांग्रेसको छ । कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजक कोइरालाले भिजन भएकालाई उम्मेदवार चयन गरिएको दाबी गर्नुभयो । यस पटक कर्णालीमा ९४१ मतदान स्थल र एक हजार ४३७ मतदान केन्द्र रहेका छन् । प्रदेशभर मतदाता १० लाख ३७ हजार २५० रहेका छन् ।