• ३ फागुन २०८२, आइतबार

सप्तरी–२ मा पुरानालाई सकस

blog

विनय कर्ण 

कल्याणपुर (सप्तरी), फागुन ३ गते । विसं २०५६ यता प्रतिनिधि सभा सदस्यमा दोहो¥याएर चुनाव नजितेको इतिहास बोकेको सप्तरी निर्वाचन क्षेत्र नं. २ मा यसपालि कसले बाजी मार्ला भनी मतदातामाझ चर्चाको विषय बनेको छ ।

तत्कालीन सद्भावना पार्टीबाट गजेन्द्रनारायण सिंह सप्तरी–२ बाट २०५६ सालमा चुनाव जित्नुभएको थियो । त्यसयता यस क्षेत्रमा दोहोरिएर कुनै पनि उम्मेदवार विजयी हुन नसक्नुले यतिबेला पुरानै इतिहास कायम रहने कि नयाँ उम्मेदवारले बाजी मार्ने मतदातामाझ चर्चाको विषय बनेको हो ।

यस क्षेत्रमा इतिहास नदोहो-याउने परम्पराले दोहो-याएर चुनाव लडेका उम्मेदवारमाथि मनोवैज्ञानिक दबाब रहेको अधिवक्ता अशोककुमार चौधरीले बताउनुभयो । फागुन २१ मा हुने निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसबाट रामकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट सूर्यनाथ यादव, नेकपा (एमाले) बाट मो. जियाउल, जनता समाजवादी पार्टी नेपालबाट पूर्वमन्त्री उमेशकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका ई. रामजी यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनअधिकार पार्टीका अध्यक्ष शरदसिंह यादव, नेपाल जनता पार्टीका महामन्त्री रञ्जु ठाकुर, स्वाभिमान पार्टीबाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतीशकुमार सिंह चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । यस्तै राष्ट्रिय मुक्ति पार्टीबाट पूर्वमन्त्री अनिश अन्सारी, उज्यालो नेपाल पार्टीका डा. दीपक चौधरी पनि चुनावी मैदानमा उत्रिएकाले प्रतिस्पर्धा रोचक हुने बताइएको छ ।

२०४८ र २०५१ सालको निर्वाचनमा तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंह निर्वाचित हुनुभएको थियो तर २०५६ सालको निर्वाचनमा उहाँ नेपाली कांग्रेसका उम्मेदवार रामकुमार चौधरीसँग मात्र १७ मतान्तरले पराजित हुनुभयो । त्यसयता यस क्षेत्रमा कुनै पनि उम्मेदवारले लगातार जित हात पार्न सकेका छैनन् । २०६४ को संविधान सभा निर्वाचनमा यस क्षेत्रबाट राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट महेश यादव, २०७० मा नेकपा माओवादीबाट उमेशकुमार यादवले यस क्षेत्रबाट चुनाव जित्नुभएको थियो ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको थियो । उहाँहरूमध्ये कोही पनि दोहो¥याएर त्यहाँ चुनाव जित्नुभएको छैन । २०७९ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबाट पराजित हुनुभएका अध्यक्ष यादव बारा–२ को उपनिर्वाचनबाट संसद् बन्नुभएको थियो । यस पटक अध्यक्ष राउत पुनः उम्मेदवार बन्नुभएको छ । यो क्षेत्रको इतिहास सन्तोषजनक नरहेका कारण अध्यक्ष राउतलाई पनि त्यसले पिरोलिरहेको स्थानीय मतदाता बताउँछन् । 

आफूले विगतमा गरेका काम र आममतदाताको चाहना अनुसार नै आफूले पुनः चुनाव जित्ने दाबी उहाँले गर्नुभएको छ । जनमत पार्टीमै रहेर उहाँसँगै काम गरेका मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सिंह, पार्टीका प्रवक्ता रहिसकेका डा. शरदसिंह यादवले अध्यक्ष राउतलाई चुनौती दिइरहनुभएको छ । 

नेकपा माओवादी परित्याग गरेर जसपा नेपालबाट उम्मेदवारी दिएका उमेशकुमार यादव डा. राउत जस्तै चुनाव जितेर इतिहास बदल्ने दाउमा रहनुभएको छ भने विगतको तालमेल र गठबन्धनका कारण कांग्रेसले १२ वर्षपछि यस क्षेत्रबाट उपसभापति रामकुमार यादवलाई चुनावी मैदानमा उतारेको छ । उहाँ पनि लामो समयपछि आफ्नो पार्टी एक्लै चुनावमा होमिएको हुँदा मतदाता निकै उत्साहित रहेको बताउनुहुन्छ ।

यता परिवर्तनको नारा दिँदै रास्वपाका ई. यादव तथा उज्यालो नेपाल पार्टीका डा. चौधरी पनि नयाँ अनुहार जित्ने विश्वासका साथ मतदातामाझ पुग्दै आउनुभएको हो । एक लाख पाँच हजार ९२२ मतदाता रहेको यस क्षेत्रमा आमजनता पार्टीका सुनीलराज दास, राष्ट्रिय प्रजातन्त्र पार्टीका अजय दास, नेपाल मजदुर किसान पार्टीका नीलमकुमारी यादव, नेपालका लागि नेपाली पार्टीका इन्द्रसागर गुप्ता, लोकतान्त्रिक जनाधिकार पार्टीका लोकतान्त्रिक पार्टीका बलराम यादवसहित ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । राजविराज नगरपालिका, छिन्नमस्ता, महदेवा र तिलाठी कोइलाडी गाउँपालिका गरी चार पालिका रहेको यस क्षेत्रका मतदाता सचेत रहेका हुँदा विगतदेखि नै परिवर्तनको पक्षमा रहँदै आएको निर्वाचन परिणामबाट देखिएको उहाँले बताउनुभयो ।