• २ फागुन २०८२, शनिबार

मतदाता शिक्षामा डिजिटल सामग्रीको उपयोग गरिने

blog

सल्यानमा मतदाता शिक्षाका लागि ८३ वटै वडामा परिचालन गरिने स्वयंसेवकालाई अभिमुखिकरण गरिँदै । तस्बिर प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन २ गते ।
आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले यस पटक सल्यानमा मतदाता शिक्षा कार्यक्रमलाई डिजिटल प्रविधिसँग जोडेर सञ्चालन गरिने भएको छ।

जिल्ला निर्वाचन कार्यालय सल्यानले जिल्लाका १० वटै स्थानीय तहअन्तर्गत ८३ वटै वडामा खटिने मतदाता शिक्षा स्वयंसेवकलाई अभिमुखीकरण प्रदान गरेको जनाएको छ। फागुन ३ गतेदेखि स्वयंसेवकहरू वडास्तरमा परिचालित भई डिजिटल सामग्रीमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। नमूना मतपत्रबाहेक अन्य शैक्षिक सामग्री डिजिटल माध्यमबाट प्रयोग गरिने कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले यस पटक मतदाता शिक्षामा डिजिटल प्रविधिको उपयोगलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो। उहाँका अनुसार वडामा खटिएका स्वयंसेवकले मोबाइल तथा सामाजिक सञ्जालमार्फत मतदान गर्ने सही तरिका, मतपत्रको प्रयोग तथा निर्वाचनसम्बन्धी आधारभूत जानकारी प्रदान गर्नेछन्।

“मतदातालाई समयमै सही सूचना नपुग्दा बदर मत बढ्ने, भ्रम सिर्जना हुने तथा सहभागिता घट्ने सम्भावना रहन्छ,” उहाँले भन्नुभयो, “त्यसैले बदर मतको सङ्ख्या घटाउने र सबै मतदातासम्म सही सूचना पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिँदैछ।”

मुख्य निर्वाचन कार्यालय सल्यानका मुख्य निर्वाचन अधिकारी प्रल्हादकुमार गिरीले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले यसको स्वच्छता र विश्वसनीयता कायम राख्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले बदर मत न्यूनीकरणमा विशेष ध्यान दिन आग्रह गर्दै मतदाता सचेत, सूचित र जिम्मेवार भए मात्र लोकतन्त्र सुदृढ हुने बताउनुभयो।

जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्रकुमार चन्दले डिजिटल सामग्री प्रयोग गरेर मतदाता साक्षरता अभियान सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार स्वयंसेवकले मोबाइलमार्फत निर्वाचन शिक्षासम्बन्धी सामग्री प्रस्तुत गरी हरेक मतदातालाई सही ढङ्गले मतदान गर्न सिकाउनेछन्।

मतदाता शिक्षा कार्यक्रमअन्तर्गत मतदान गर्ने तरिका, मतपत्रको सही प्रयोग, गोप्य मतदानको महत्व, निर्वाचन आचारसंहिता तथा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने गलत तथा भ्रामक सूचनाबाट कसरी जोगिने भन्ने विषयमा जानकारी दिइनेछ।

कार्यालयका अनुसार सल्यान जिल्लामा कुल एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन्। जसमध्ये महिला ७९ हजार १२८ र पुरुष ८३ हजार ३२१ रहेका छन्। जिल्लाका ८३ वटै वडामा सञ्चालन हुने कार्यक्रममार्फत सबै मतदातासम्म पहुँच पुर्‍याउने लक्ष्य लिइएको छ।

मतदाता शिक्षा कार्यक्रम तोकिएको कार्ययोजना अनुसार प्रभावकारी रूपमा कार्यान्वयन भए–नभएको सुनिश्चित गर्न १० वटै स्थानीय तहमा अनुगमनकर्ता परिचालन गरिने जनाइएको छ। अनुगमनकर्ताले दैनिक गतिविधिको अनुगमन गरी नियमित प्रतिवेदन जिल्ला निर्वाचन कार्यालयमा पेश गर्ने व्यवस्था मिलाइएको छ।