बबई समाचारदाता
बबई (बर्दिया), फागुन २ गते । बर्दिया जिल्लाको मधुवन नगरपालिका–१ अन्तर्गत पर्ने कैलाशीगाउँका स्थानीयलाई मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न, वैकल्पिक खेतीमा कृषकको रुचि जगाउन र स्थानीयको आयआर्जन बढाउन बिउपुँजीको स्थापना गरिएको छ ।
मधुवन नगरपालिका–१ मा रहेका सहारा कृषि समूह र उज्यालो नेपाल कार्यक्रमबिच कैलाशीगाउँका वन्यजन्तुपीडित स्थानीयको आयआर्जन बढाउने उद्देश्यले छ लाख रुपियाँ बराबरको बिउपुँजी स्थापना गर्ने सम्झौता भएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने कैलाशीगाउँमा बर्सेनि जङ्गली हात्ती, बँदेल, हुँडार, नीलगाई, गैँडालगायतका जनावरले स्थानीयलाई क्षति पु¥याउँदै आएका छन् । मधुवन नगरपालिका–१ का अध्यक्ष मीन थापाले वडा नं. १ अन्तर्गत रहेको र अत्यन्तै जोखिम अवस्थामा रहेको कैलाशीगाउँका वन्यजन्तुपीडितलाई केही राहत मिलोस् भन्ने उद्देश्यले बिउपुँजीको स्थापना गरिएको बताउनुभयो ।
बिउपुँजीका रूपमा राखिएको रकम वन्यजन्तु पीडितलाई वैकल्पिक खेतीका लागि सहयोग गरिने सम्झौतापत्रमा उल्लेख छ । कृषकको अन्नबाली वन्यजन्तुले क्षति गर्न थालेपछि त्यस क्षेत्रका स्थानीयले वन्यजन्तुले क्षति नगर्ने खालको वैकल्पिक खेती गर्दै आएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज र विभिन्न सामुदायिक वनक्षेत्रबाट आउने वन्यजन्तुले कृषकको अन्नबाली क्षति गर्ने गरेको छ । उज्यालो नेपाल बर्दियाका अध्यक्ष नवराज न्यौपानेले सहारा कृषि समूहमा आबद्ध रहेका महिलालाई बिउपुँजीले सहयोग पु-याउने र वैकल्पिक खेतीतर्फ आकर्षित गर्न आफ्नो संस्थाले स्थानीय सरकारको समन्वयमा बिउपुँजी स्थापनाका लागि सहयोग गरेको बताउनुभयो ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै सहारा कृषक समूहका अध्यक्ष नयराम सुनारले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि वन्यजन्तु पीडितका लागि सहयोग गर्ने गरी बिउपुँजी स्थापना गरिएको बताउनुभयो ।