• १२ साउन २०८१, शनिबार

‘सहज स्वास्थ्य सेवा उपलब्धता हुनुपर्छ’

उपचारका लागि विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य हुनुपर्छ : राष्ट्रपति भण्डारी

blog

चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : कविता थापा

सपना थामी

काठमाडौं, साउन १ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवा उपलब्धताका लागि सम्बन्धित सबै पक्षले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ। 

आइतबार राजधानीमा आयोजित चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गनुहुँदै राष्ट्रपति भण्डारीले उपचार गर्न ठूला शहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताउनुभयो। 

यसका लागि मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई जनताको आकांक्षा अनुसार व्यवस्था गर्न स्वेदशमा मेडिकल शिक्षाको प्रबर्धन गर्न अतिआवश्यक रहेको पनि बताउनुभयो। 

उहाँले भन्नुभयो, “नेपालको संविधानले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउने कुरालाई मौलिक हकको रुपमै व्यवस्था गरेको छ। सोही अनुसारको सेवा उपलब्ध गराउन राज्यले आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गरी भौतिक एवम् संस्थागत पूर्वाधारको व्यवस्था गर्न ढिलाइ गर्न हुँदैन।”

उहाँले संस्थानले स्वास्थ्य सेवाका लागि आवश्यक निर्माणमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुहुँदै स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आवधिक प्रक्षेपणको आधारमा विशेषज्ञ डाक्टर, नर्सलगायतका स्वास्थ्य प्राविधिकको उत्पादनका लागि राज्यले आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गर्दै भौतिक एवम् संस्थागत पूर्वाधारको व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो।



“स्वास्थ्य शिक्षा तथा सेवाको क्षेत्रमा राज्यको एक अग्रणी संस्थाको रुपमा यस संस्थानले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्ति विकासका लागि निरन्तर नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरेको छु। विशिष्टिकृत स्वास्थ्य सेवाका लागि संस्थानको प्रयास, तयारी र योजनाको म प्रशंसा गर्न चाहन्छु। यसमा सबैको सहयोग अपेक्षित छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो।   

यसका लागि प्रदेश, भूगोल र क्षेत्रमा शिक्षा र सेवाको अवसरलाई विकेन्द्रीकृत गर्न अति आवश्यक रहेको उल्लेख गर्नुहुँदै उहाँले पायक पर्ने स्थानमा आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज बनाउनुपर्ने बताउनुभयो। 

स्वर्ण महोत्सवको अवसरमा राष्ट्रपति भण्डारीले संस्थानका पदाधिकारी, प्राध्यापक, डाक्टर, नर्स, प्राविधिकलगायत सम्पूर्ण कर्मचारीहरुलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो।