• २६ चैत २०८२, बिहिबार

सभामुख अर्याल र स्विस राजदूत डानियलबिच शिष्टाचार भेटवार्ता

blog

भेटर्वार्ता गर्नुहुँदै सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. डानियल मेउल्ली । तस्बिर : सभामुखको निजी सचिवालय

काठमाडौँ, चैत २७ गते । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. डानियल मेउल्लिले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा दुई देशबिचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ ।

भेटमा सभामुख अर्यालले राजदूत मेउल्लिलाई स्वागत गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र स्विट्जरल्यान्डबिच प्रगाढ र उत्कृष्ट सम्बन्ध कायम रहेको बताउनुभयो । उहाँले नेपालले स्विट्जरल्यान्डसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको उल्लेख गर्दै यो मित्रता पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको धारणा व्यक्त गर्नुभयो । 

सभामुख अर्यालले स्विट्जरल्यान्ड सहभागितामूलक लोकतन्त्रको सफल अभ्यासका लागि विश्वमै उदाहरण रहेको चर्चा गर्दै नेपालले पनि स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउन निरन्तर प्रयत्न गरिरहेको जानकारी गराउनुभयो ।

सो अवसरमा सभामुखले नेपालको सामाजिक–आर्थिक विकासमा स्विस विकास तथा सहयोग नियोग (एसडिसी) मार्फत पुर्‍याइएको योगदानको उच्च प्रशंसा गर्नुभयो । “नेपाल अझै पनि स्विट्जरल्यान्डको प्राथमिकता प्राप्त देशको सूचीमा रहेकोमा हामी खुसी छौँ,” सभामुखले भन्नुभयो, “आगामी दिनमा यो विकास सहकार्यको दायरा थप विस्तार हुनेमा म विश्वस्त छु ।”

संसदीय सहकार्यका सम्बन्धमा चर्चा गर्दै सभामुख अर्यालले उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशका संसद्‍ बिचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सन् २०२४ मा भएका उच्चस्तरीय जेनेभा भ्रमणहरूको स्मरण गर्दै स्विट्जरल्यान्डका राष्ट्रिय परिषद्का अध्यक्षलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि पुनः निमन्त्रणा समेत गर्नुभयो । सभामुखले संघीय संसद्मा नेपाल–स्विट्जरल्यान्ड संसदीय मैत्री समूह गठन गर्ने परम्परालाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।

भेटमा राजदूत मेउल्लिले जलवायु परिवर्तन र सामाजिक–आर्थिक विकासका साझा चुनौतीहरूमा नेपालसँग निकट रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजदूत मेउल्लिले नेपालको लोकतान्त्रिक सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न स्विट्जरल्यान्डको सदैव सहयोग रहने आश्वासन दिनुभयो ।