• २६ चैत २०८२, बिहिबार

दाङमा आर्थिक गणनाका लागि गणक तथा सुपरिवेक्षकलाई तालिम

blog

आर्थिक गणनाका लागि खटिने गणक तथा सुपरिवेक्षकका लागि आयोजना गरिएको तालिमका सहभागी । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, चैत २६ गते । राष्ट्रिय आर्थिक गणनाको तयारीका लागि दाङमा गणक तथा सुपरिवेक्षकलाई लक्षित गरी तालिम सुरु गरिएको छ । आगामी २०८३ साल वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि गणक र सुपरीवेक्षकका लागि घोराहीमा पाँच दिने तालिम सुरु भएको हो । 

आर्थिक गणनाका लागि दाङका १० स्थानीय तहमा ७० जना गणक र ९ जना सुपरिबेक्षक खटिँदैछन् । तालिम उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले आर्थिक गणना देशको अर्थतन्त्रको ऐना भएकाले यथार्थ र विश्वसनीय तथ्याङ्क संकलनमार्फत राज्यलाई सही सूचना उपलब्ध गराउन सहभागीलाई जिम्मेवार र इमान्दार भएर काम गर्न आग्रह गर्नुभएको थियो । 

जिल्ला आर्थिक गणना अधिकारी पोमनारायण पौडेलले देशको आर्थिक नीति निर्माण तथा सुधारका लागि आर्थिक गणना महत्वपूर्ण आधार हुने बताउनुभयो । उहाँले गणनाबाट प्राप्त तथ्याङ्कले समग्र आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्नुका साथै योजना निर्माणमा सहयोग पुग्ने बताउनुभएको थियो ।  

आर्थिक गणनाका क्रममा आर्थिक गतिविधिमा संलग्न व्यक्ति, संघसंस्था, उद्योग व्यवसाय, औद्योगिक क्षेत्र, शिक्षा, स्वास्थ्य, मनोरञ्जन लगायतका क्षेत्रबाट घरदैलोमै पुगेर तथ्याङ्क सङ्कलन गरिने छ ।  गणना सम्पन्न भएपछि आधारभूत आर्थिक तथ्याङ्कको अभिलेखीकरण, उद्योग व्यवसायमैत्री नीति निर्माण, अर्थतन्त्रको सुदृढीकरण तथा नयाँ लगानीकर्ताको विवरण संकलनमा सहयोग पुग्ने अपेक्षा विश्वास गरिएको आर्थिक गणना अधिकारी पौडेलले बताउनुभयो ।  

कार्यक्रममा तथ्याङ्क निर्देशक अरुण गौतम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीलगायतले आर्थिक गणनामा आवश्यक सहयोग गर्न सरोकारवाला सबैमा आग्रह गर्नुभएको थियो ।