• २६ चैत २०८२, बिहिबार

पेट्रोलियम पदार्थ प्रयोगमा मितव्ययिता अपनाउन प्रशासनको आग्रह

blog

जिल्ला प्रशासन कार्यालय मकवानपुर । तस्बिर :अनिल पराजुली ।

अनिल पराजुली

हेटौँडा, चैत २६ गते।जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ ।

बिहीबार जारी गरिएको सूचनामा प्रशासनले अत्यावश्यक सरकारी कार्यबाहेकको अन्य प्रयोजनका लागि सरकारी सवारी साधन प्रयोग नगर्न निर्देशन दिएको हो ।

सूचनामा सार्वजनिक बिदाका दिन सवारी साधन नचलाउन तथा सार्वजनिक बिदा वा जिल्ला बाहिर सरकारी कामका लागि सवारी साधन प्रयोग गर्नुपर्ने अवस्था आएमा अनिवार्य रूपमा पास लिएर मात्र सञ्चालन गर्न भनिएको छ ।

पेट्रोलियम पदार्थको आपूर्तिमा आएको कमीलाई मध्यनजर गर्दै खपत घटाउने उद्देश्यले नेपाल सरकार मन्त्रिपरिषद् बैठकले चैत २३ गतेदेखि लागू हुने गरी सातामा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

प्रशासनले वर्तमान परिस्थितिमा पेट्रोलियम पदार्थको खपत न्यून गर्न जिल्लास्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थानलाई उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको छ ।