बोमलाल गिरी
नवलपुर, फागुन १ गते । नेकपा एमाले नवलपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार भागिरथ सापकोटाले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका गर्नुभएको छ । गैँडाकोटमा पत्रकार सम्मेलन गरी उहाँले नवलपुर विकास गर्ने पाँच वटा एजेण्डा सहितको प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।
उहाँले पर्यटन, उद्योग, जलश्रोत, कृषि र सूचना प्रविधिमार्फन नवलपुरको विकास गर्न सकिने योजना अघि सार्नुभएको छ । पर्यटन प्रवर्धनलाई प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गर्दै सापकोटाले कोरला–त्रिवेणी–दुम्किवास सडक निर्माण कार्य शीघ्र सम्पन्न गरिने बताउनुभयो ।
उक्त सडक निर्माण पूरा भएपछि चिनियाँ तथा भारतीय पर्यटक नवलपुर भित्र्याउन सहज हुने र नवलपुरलाई अन्तर्राष्ट्रिय पर्यटन मार्गसँग जोड्न मद्दत पुग्ने सापकोटाको भनाइ छ । ‘सीमा नाकासँग जोडिने सडकले व्यापार र पर्यटन दुबैलाई नयाँ उचाइमा पुर्याउनेछ,’ सापकोटाले भन्नुभयो ।
उहाँले जिल्लामा साना तथा मझौला उद्योग स्थापना गर्न विशेष योजना ल्याइने बताउनुभयो । कृषि, जडीबुटी, खाद्य प्रशोधन र घरेलु उद्योगलाई प्रोत्साहन गर्दै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गरिने उहाँको भनाइ छ । सापकोटाले नवलपुरलाई उत्पादन, पर्यटन र प्रविधिमैत्री जिल्लाको रूपमा विकास गर्ने लक्ष्य रहेको पनि उल्लेख गर्नुभयो । ‘‘युवा विदेशिन बाध्य हुने अवस्था अन्त्य गर्न स्थानीय स्तरमै उद्योग स्थापना, सीप विकास र स्वरोजगारका अवसर सृजना गर्नु अपरिहार्य छ,’’ उहाँले भन्नुभयो ।
साथै नवलपुरमा विभिन्न जातजातिको मौलिक संस्कृति झल्कने गरी होमस्टे सञ्चालनलाई विस्तार गरिने योजना पनि अघि सारिएको छ । स्थानीय समुदायलाई सहभागी गराई संस्कृति, परम्परा, खानपान र जीवनशैलीमा आधारित पर्यटन व्यवसाय विकास गरिने बताइएको छ । यसले ग्रामीण क्षेत्रमा आयआर्जनको स्रोत बढाउने र स्वरोजगारमुखी पर्यटन व्यवसायलाई बलियो बनाउने उहाँको अपेक्षा छ ।
जिल्लाको पहाडी क्षेत्रमा उत्पादित अम्रिसो, अदुवा लगायतका कृषि उत्पादनको व्यवस्थित बजार व्यवस्थापन गरिने उहाँले बताउनुभयो । कृषकलाई उत्पादनदेखि बजारीकरणसम्म सहयोग पुर्याउन सङ्कलन केन्द्र, प्रशोधन एकाइ र बजार पहुँच विस्तारका कार्यक्रम सञ्चालन गरिने पनि सापकोटाले बताउनुभयो ।
शिक्षा क्षेत्रतर्फ जिल्लामै प्राविधिक विद्यालय स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ । प्राविधिक र तथा व्यावसायिक शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्दै जिल्लामै गुणस्तरीय अध्ययनको वातावरण तयार गरिने उहाँको दावी छ ।
स्वास्थ्यतर्फ देवचुलीमा ट्रमा सेन्टर निर्माणलाई तीव्रता दिइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । दुर्घटना तथा आकस्मिक उपचारका लागि जिल्लामै सुविधा सम्पन्न ट्रमा सेन्टर आवश्यक रहेको उल्लेख गर्दै उहाँले यसलाई शीघ्र सम्पन्न गर्ने बताउनुभयो ।
उहाँले गैँडाकोटमा खण्डहर अवस्थामा रहेको भृकुटी कागज उद्योगलाई सूचना प्रविधि पार्ककको रुपमा विकास गर्नु पर्ने धारण राख्नुभयो । यी सबै योजना कार्यान्वयनका लागि एमालेको नेतृत्वमा सरकार आवश्यक रहेको भन्दै आफूलाई मतदान गरी जिताउन मतदातालाई आग्रह गर्नुभयो ।