अर्जुन काफ्ले
स्याङ्जा, फागुन १ गते । पुतलीबजार नगरपालिका–५ पौवैगौंडेका रमेश थापाको असामयिक निधनपछि सङ्कलित आर्थिक सहयोग परिवारलाई हस्तान्तरण गरिएको छ ।
झण्डै १३ महिना अघि रोजगारीको सिलसिलामा रोमानिया पुग्नु भएका सन् २०२५ डिसेम्बर २४ मा हृदयघातका कारण निधन भएको थियो । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले सङ्कलित सहयोग रकम हस्तान्तरण गरेको हो ।
पौवैगौंडेको थापाको निवासमै पुगेर समितिको टोलीले युरोप क्षेत्रबाट सङ्कलित तीन लाख चार हजार ३८४ रुपियाँ र संस्थागत तर्फबाट १५ हजार २६६ रुपियाँ गरी कुल तीन लाख १९ हजार ६५० रुपियाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।
सङ्कलित रकम थापाकी श्रीमती सोनी केसी थापाको नेपाल इन्भेस्टमेन्ट मेघा बैंक लिमिटेडमा डिपोजिट गरी बैंक भौचर थापाकी श्रीमती र परिवारलाई निवासमै पुगेर हस्तान्तरण गरेको हो ।
विशेषगरी नाबालक छोराको भविष्यलाई ध्यानमा राख्दै सङ्कलित सहयोगले केही राहत पुग्ने छ ।
रकम हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अनन्त कुमार श्रेष्ठले समाजले वास्तविक पीडित परिवारसम्म सहयोग पु¥याएको बताउनुभयो । थापाका श्रीमती र एक छोरा रहेका छन् ।
दुःखद घटनापछि मृतकको शव नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय/सचिवालय, जर्मन दूतावास कूटनीतिक नियोग, रोमानियास्थित सम्बन्धित कम्पनी तथा आइसिसी संस्थाको विशेष पहलमा करिब एक महिनाको निरन्तर प्रयासपछि थापाको शव नेपाल ल्याइएको थियो ।