• १ फागुन २०८२, शुक्रबार

स्याङ्जा कार्यसम्पादन मूल्याङ्कन : कालीगण्डकी पहिलो, वालिङ दोस्रो

blog

कालीगण्डकी गाउँपालिका । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा) फागनु १ गते ।
स्याङ्जाका स्थानीय तहहरुको संस्थागत क्षमता कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक भएको छ । ११ पालिका रहेको स्याङ्जामा कालीगण्डकी गाउँपालिका पहिलो भएको छ भने वालिङ नगपालिका दोस्रो भएको छ । 

प्राकृतिक स्रोत तथा वित्त आयोगले आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार कालीगण्डकी गाउँपालिकाले ७८.१९ प्रतिशत अङ्क ल्याएको छ । दोस्रोमा रहेको वालिङ नगरपालिकाको ७६.३३ प्रतिशत रहेको छ । यस्तै तेस्रोमा फेदीखोला गाउँपालिका रहेको छ जसले ७६.०२ प्रतिशत अङ्क ल्याएको छ ।

यसैगरी, पुतलीबजार नगरपालिकाले ७५.३१, बिरुवा गाउँपालिकाले ७४.६८, आँधीखोला गाउँपालिकाले ७२.८३, अर्जुनचौपारी गाउँपालिकाले ६९.६९ प्रतिशत अङ्क ल्याएका छन् ।

यसैगरी, भीरकोट नगरपालिकाले ६७.२१, गल्याङ नगरपालिकाले ६१.६६, चापाकोट नगरपालिकाले ५१.७० र हरिनास गाउँपालिकाले ४९.२० प्रतिशत अङ्क प्राप्त गरेको आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा १०० पूर्णाङ्क राखेर मूल्याङ्कन गर्ने गर्छ । जसमा १० असारभित्र बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम पुस मसान्तभित्र प्रदेश सन्चित कोषमा जम्मा गरे नगरेको, आयव्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेटको वर्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको आदि उल्लेख छ ।