• २९ माघ २०८२, बिहिबार

दशौँ ‘नेपाल फर्मा एक्स्पो २०२६’ काठमाडौँको भृकुटीमण्डपमा हुने

blog

दशौँ ‘नेपाल फर्मा एक्स्पो २०२६’को बारेमा जानकारी दिँदै आयोजक ।

काठमाडौँ, माघ २९ गते । नेपाल औषधी उत्पादक सङ्घको दशौँ ‘नेपाल फर्मा एक्स्पो २०२६’ आगामी फागुन २८, २९ ३० गते काठमाडौँमा हुने भएको छ ।

सङ्घले पत्रकार सम्मेलन गर्दै दशौँ ‘नेपाल फर्मा एक्स्पो २०२६’ आगामी फागुन २८, २९ ३० गते काठमाडौँको भृकुटीमण्डपमा गर्न लागेको जानकारी दिएको छ ।

 फर्मामा नवीनताः भोलिको स्वास्थ्यका लागि भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस एक्सपोले नेपाली औषधी क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने लक्ष्य रहेको एक्स्पोका मिडिया कोअर्डिनेटर शैलेश वैद्यले जानकारी दिनुभयो । 

एपोनका अध्यक्ष विप्लब अधिकारीले नेपालका औषधी उद्योगलाई अगाडि बढाउन तथा औषधीमा आत्मनिर्भरताको बाटो समाउन अन्तर्राष्ट्रिय स्तरको एक्स्पोको आयोजना गरिएको जानकारी दिनुभयो । 

एक्स्पोमा नेपालसहित भारत, बङलादेश, जर्मनी, जापान लगायतका देशका बहुराष्ट्रिय कम्पनीको दुई सय भन्दा बढी स्टल रहने छन् । 

एपोनका उपाध्यक्ष सन्तोष बरालले औषधी यसपटकको एक्स्पोमा ९० प्रतिशत स्टलमा विदेशी र बहुराष्ट्रिय कम्पनीको सहभागिता हुने बताउनुभयो । 

त्यसमा औषधी उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ उत्पादक र मेसिनरीको प्रदर्शन गरिने छ ।

 यसबाट औषधीका लागि ल्याइने कच्चा पदार्थ, प्याकिङ सामग्री र नयाँ प्रविधिको क्षेत्रमा विश्व बजारमा आएका नवीनतम प्रविधिलाई नेपाली बजारसँग जोडन मद्दत गर्ने उहाँको भनाइ छ । 

उक्त कार्यक्रममा विभागका महानिर्देशक नारायणप्रसाद ढकालले स्वदेशी उद्योगको विकास तथा प्रवर्धनका लागि निजी क्षेत्रसँग सरकारले सहकार्य गर्ने योजना अनुरूप विभागले हातेमालो गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘औषधीमा गुणस्तर कायम होस, प्रविधि भित्रियोस्, कसरी हुन्छ नेपाली उद्योगहरू फस्टाओस् भन्ने सरकारको चाहना हो, विभागको चाहना हो । अझ यस्ता कार्यक्रम सरकारले नै पनि गर्नु पर्दथ्यो । निजी क्षेत्रबाट यसको आयोजना भइरहँदा हामीले सहकार्य गरेका हौँ’ 

महानिर्देशक ढकालले बहुराष्ट्रिय कम्पनीलाई निम्त्याएर गरिने यस किसिमको प्रदर्शनीले स्वदेशी उद्योगलाई नवीनतम प्रविधि तथा उपकरणबारे सहज रूपमा जानकारी पाइने बताउनुभयो ।