काठमाडौँ, माघ २९ गते । नेपाली कांग्रेसका शुभेच्छा संस्था तथा लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरूले आगामी निर्वाचनका लागि पार्टीले तयार पार्ने प्रतिज्ञापत्रमा स्वास्थ्य क्षेत्रका मूलभूत विषयहरू समावेश गर्न सुझाव दिएका छन्।
नेपाल स्वास्थ्यकर्मी सङ्घका पूर्व महासचिव दीपक मुडभरीसहितका स्वास्थ्यकर्मीहरूले कांग्रेस केन्द्रीय कार्यसमितिलाई स्वास्थ्य सुधारका ४१ बुँदे प्रस्ताव बुझाउनुभएको हो।
नेपालको स्वास्थ्य क्षेत्र पहुँचका हिसाबले विस्तार भए पनि गुणस्तर, समानता र दिगोपनको दृष्टिले अझै चुनौतीपूर्ण रहेको प्रस्तावमा उल्लेख छ।
नसर्ने रोग, क्यान्सर, मिर्गौला तथा मानसिक स्वास्थ्य समस्याहरू तीव्र रूपमा बढ्दै गएका बेला स्वास्थ्य जनशक्ति पलायन, महँगो उपचार, गुणस्तरहीन उपकरण आयात र कमजोर शासन प्रणालीले नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको स्वास्थ्यकर्मीहरूको ठम्याइ छ।
प्रस्तावमा सात सय ५३ वटै स्थानीय तहमा आधारभूत अस्पताल र वडा स्वास्थ्य क्लिनिक स्थापना गरी एमडिजिपी चिकित्सक उपलब्ध गराउनुपर्ने माग गरिएको छ। स्वास्थ्य बीमालाई अनिवार्य बनाउँदै अखाद्य पदार्थमा कर वृद्धि गरी सो रकम बीमामा लगानी गर्ने रणनीति लिन सुझाव दिइएको छ।
यस्तै, क्यान्सर, मिर्गौला र मुटु रोगको उपचारका लागि एकद्वार प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ।
स्वास्थ्यकर्मीहरूले कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने, दुर्गममा एयर एम्बुलेन्स सञ्चालन गर्नुपर्ने र टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउनुपर्ने प्रस्ताव गरेका छन्।
स्वास्थ्य जनशक्ति पलायन रोक्न विशेष सुरक्षा र सुविधाको प्याकेज, औषधि उत्पादनमा आत्मनिर्भरता र खरिद प्रक्रियामा पारदर्शिता कायम गर्न खरिद ऐन संशोधनको विषय समेत प्रतिज्ञापत्रमा समेट्न आग्रह गरिएको छ।
पार्टी नेतृत्वलाई बुझाइएको सुझावमा जलवायु परिवर्तनले निम्त्याएका स्वास्थ्य जोखिम, मानसिक स्वास्थ्य र जेष्ठ नागरिकका लागि छुट्टै वार्ड तथा पुनर्स्थापना सेवाको आवश्यकता औँल्याइएको छ।
स्वास्थ्य संस्थाको नेतृत्व योग्यता र कार्यक्षमताका आधारमा चयन गर्ने सुशासनको मोडल अपनाउन पनि कांग्रेसलाई सुझाव दिइएको छ।