ठाकुरप्रसाद आचार्य
म्याग्दी,माघ २९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय म्याग्दीले तयारीलाई तीव्र पारेको छ ।
प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको अध्यक्षतामा बसेको कार्यालय प्रमुख तथा कर्मचारीहरुको बैठकले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्ने, सरकारी स्रोतसाधनको दुरुपयोग हुन नदिने र अत्यावश्यक सेवाहरु निर्बाध राख्ने निर्णय गर्दै सबै संयन्त्रलाई पूर्ण तयारी अवस्थामा राख्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो ।
कार्यालय प्रमुखले आफ्ना कर्मचारीहरुलाई निर्वाचन आयोगबाट जारी आचारंहिताको पूर्णरुपमा कडाइका साथ पालना गर्ने गराउन समेत प्रतिवद्धता व्यक्त गरेको उहाँले बताउनुभयो ।
कसैले निर्वाचन अचारसहिंता विपरित रुपले सरकारी स्रोतसाधनको प्रयोग गरेको पाइएमा जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लाभित्र वा बाहिर सरकारी साधनस्रोतको प्रयोग गर्दा कारण र औचित्य खुल्ने गरी प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर विवाद रहित तवरले मात्र उपयोग गर्न बैठकले निर्णय गरेको छ ।
सार्वजनिक निकाय, सरकारी कार्यालय तथा विद्यालय लगायतका स्थानमा निर्वाचन प्रचारप्रसारका लागि अनुमति नदिने, त्यस्तो भए गरेको पाइएमा तुरुन्त कारबाही गर्ने साथै कानूनको दायरामा ल्याउने निर्णय भएको सहायक प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
सरकारी कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गर्दा निर्वाचन आचारसंहिता र पदीय मर्यादा विपरीत गतिविधि नगर्न सचेत गराइएको छ । सार्वजनिक निकाय, विद्यालय तथा सरकारी कार्यालय परिसर निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गर्न नदिने र उल्लङ्घन भए तत्काल कारबाही गर्ने चेतावनी दिइएको छ ।
यसैगरी, कार्यालय मातहत कर्चारीहरुले निर्वाचन आचारसंहिता अवज्ञा हुने तथा सार्वजनिक शान्ति र मर्यादा उल्ङ्घन हुने गतिविधि एवम् सामाजिक सद्भाव खलबलिने वा घृणाजन्य अभिव्यक्ति तथा द्धैष फैलाउने सामग्री पोष्ट, शेयर, सस्क्राइव वा लाइक नगर्न कर्मचारी बैठक राखेर सजग गराउने र पदीय आचरण तथा निर्वाचन आचारसंहिता विपरितका कार्यलाई निरुत्साहित गरी कानुनको दायरामा ल्याउन सहयोग गर्ने निर्णय भएको छ ।
सरकारी कर्मचारी, सुरक्षाकर्मी, शिक्षक र सार्वजनिक पद धारण गरेका कर्मचारीले सामाजिक सञ्जालमा निर्वाचन लक्षित पोष्ट सेयर, लाइक कमेन्ट गर्ने, दलिय कार्यक्रममा सहभागि हुने, भोट माग्ने लगायतका गतिविधि गरेमा कानुनको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिता २०८२ को कडाइका साथ अनुगमन गरिने बताउनुभयो ।
यसैगरी, निर्वाचनको पूर्व सन्ध्यामा सडक,सञ्चार,विद्युत,खानेपानी, स्वास्थ्य उपचार, रक्तसञ्चार सेवा, सार्वजनिक यातायात, दमकल, एम्बुलेन्स आदि अत्याश्यक सेवाहरू अबरुद्ध हुन नदिई सेवा प्रदायकले आफ्नो क्षेत्राधिकार भित्रको सेवालाई दुरुस्त राख्ने बैठकले निर्णय गरेको छ ।
निर्वाचनको सन्दर्भमा आकस्मिक हुनसक्ने हिमपात, वेमौसमी वर्षा, पहिरो तथा हावाहुरी लगायत कुनै कारणबाट विपद्जन्य घटना हुन नदिन पूर्वसतर्कता अपनाउने र आकस्मिक घटना भएमा तत्काल प्रतिकार्यका लागि सबै सरोकारवाला निकाय पूर्णतयारी अवस्थामा राखिने भएको छ ।
मतदान केन्द्र तोकिएका सामुदायिक विद्यालय तथा स्वास्थ्य चौकी र वडा कार्यालयहरुमा सरोकारवाला सम्बन्धित कार्यालयले पानी, विजुली, टेलिफोन, शौचालय, घेराबार तथा सीसी टिभी क्यामेरा लगायतका पूर्वाधारहरुको अवस्था हेरी मर्मत सम्भार गर्नुपर्ने भए तत्काल मर्मतसम्भार गर्ने निर्णय समेत भएको सहायक प्रजिअ आचार्यले बताउनुभयो ।