चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २९ गते । ताप्लेजुङमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक छनोट भएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले यहाँका प्रत्येक वडामा परिचालित हुने मतदाता शिक्षा स्वयंसेवक छनोट गरेको हो ।
आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न जिल्ला निर्वाचन कार्यालयले स्वयंसेवक छनोट गरेको हो । जिल्लाका ६१ वटै वडामा परिचालित हुने (खटिने) मतदाता शिक्षा स्वयंसेवक छनोट जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलाल (विपिन) का अनुसार मतदाता शिक्षा स्वयंसेवक छनोट गरी उनीहरुलाई तालिम दिन थालिएको छ ।
विभिन्न विद्यालयका बाल विकास सहजकर्ता (बाल शिक्षक), मातृस्वास्थ्य कार्यकर्ता, स्थानीय स्वास्थ्य स्वयंसेविका र सामुदायिक अध्ययन परिचालकमध्येबाट मतदाता शिक्षा स्वयंसेवक छनोट गर्न सकिने व्यवस्थाअनुसार नै स्वयंसेवक छनोट गरिएको छ ।
सूचना अधिकारी दुलालका अनुसार तालिमपश्चात मतदाता शिक्षा स्वयंसेवकलाई कार्यस्थलमा खटाइने छ । निर्वाचन आयोग नेपालले फागुन ३ देखि १७ गतेसम्म देशभरका वडा–वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्नेगरी निर्धारण गरेको योजनाअनुसार नै मतदाता शिक्षा स्वयंसेवक परिचालित हुने जिल्ला निर्वाचना कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार मतदाता शिक्षा स्वयंसेवकले आफ्नो कार्यस्थलका मतदातालाई मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्व, निर्वाचन आचारसंहिता तथा गलत एवं भ्रामक सूचनाबाट बच्ने उपायबारे मतदातालाई शिक्षा दिने छन् । सहि तरिकाले मतदान गर्ने, मतपत्र पट्याउने र मतपेटिकामा मतपत्र खसाल्नेसम्मको तरिकाबारे मतदाता स्वयंसेवकले मतदातालाई सिकाउने छन् ।
त्यस्तै मतदान अधिकृतको दस्तखत नभएको, आयोगले निर्धारण गरेको स्वस्तिक चिन्हबाहेक अन्य औंठा छाप वा कुनैपनि वस्तुको प्रयोग गरेरमा सङ्केत गरेको मतपत्र बदर हुनेजस्ता शिक्षा स्वयंसेवकले सिकाउने छन् । यस्तै मतदाता शिक्षा स्वयंयेवकले कुनै उम्मेदवार वा दलको चुनाव चिह्नलाई लक्षित गरी मतदाता शिक्षा सिकाउन पाउने छैनन् । मतदाता शिक्षा स्वयंसेवकसँगै स्वयंसेवक परिचालन अनुगमन गर्न अनुगमनकर्ता पनि खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।