• २८ माघ २०८२, बुधबार

लखन थापा मगरको स्मृतिमा दौड प्रतियोगिता हुने

blog

दौड प्रतियोगताबारे जानकारी गराउनुहुँदै संयोजक रक्षबहादुर रैकामगर ।

गोरखापत्र अनलाइन

काठमाडौं, माघ २८ गते । नेपालको प्रथम सहिद लखन थापा मगरको ऐतिहासिक योगदान र बलिदानको स्मरणमा खुल्ला दौड प्रतियोगिता हुनेभएको छ । मगरको १४९ औं स्मृति दिवसको अवसरमा लखन थापा मगर स्मृति खुल्ला दौड प्रतियोगिता २०८२ हुन लागेको हो ।

आगामी फागुन २ गते शनिबारका दिन बिहान ६ बजे काठमाडौंको सहिद गेटबाट दौड सुरु हुने बुधबार पत्रकार सम्मेलन गरी आयोजक नेपाली कल्चरले जनाएको हो। प्रथम सहिद मगरको बलिदानी, देशप्रेम, साहस र क्रान्तिको चेतना र बलिदानीको सम्मान गर्दै उहाँको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार साथै युवापुस्तामा स्वास्थ्य, खेलकुद, संस्कृति र राष्ट्रिय इतिहासप्रतिको जागरण र गौरव फैलाउने उद्देश्यले नेपाली कल्चर मिडिया प्रालिको आयोजना, नेपाल मगर संघ, केन्द्रिय समितिको संरक्षकत्व साथै प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको संयोजनमा उक्त दौड प्रतियोगिता हुन लागेको हो ।

नेपालमा प्रजातन्त्र स्थापना गराउने उद्देश्यले पहिलो पटक राजनीतिक विद्रोह गरेको कारणले राणा शासक जंगबहादुरको ठाडो आदेशमा विसं १९३३ फागुन २ गते मृत्युदण्ड दिइएका लखन थापा मगर नेपालका प्रथम सहिद मानिनुहुन्छ । 

लखन थापा मगरको नेतृत्वमा दुई हजारभन्दा बढी नेपाली जनताहरु संगठित भइ वि‍सं १९२७ देखि १९३३ सम्म राणा शासनविरुद्ध पहिलो जनविद्रोह गरेका थिए। नेपाल सरकारले लखन थापा मगरलाई वि‍सं २०७२ असोज ३ गते नेपालको प्रथम सहिद घोषणा गरेको छ।

एक हजारभन्दा बढी खुल्ला सहभागितामा आधारित रहने प्रतियोगिता १० किलोमिटर दूरी रहने आयोजकका स‌ंयोजक रक्षबहादुर रैकामगरले बताउनुभयो । आयोजकका अनुसार उक्त प्रतियोगिता महिला तथा पुरुष विधामा छुट्टाछुट्टै सञ्चालन गरी महिला तथा पुरुष प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय, सान्त्वना स्थान हासिल गर्ने धावकलाई नगद  र ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । 

दौड प्रतियोगितामा नेपालको खेल इतिहासको सबैभन्दा प्रतिष्ठित र प्रेरणादायी एथलेट विशेषगरी लामो दूरी दौडऽ म्याराथनका जीवित इतिहास, दक्षिण एशियाली खेलकुद साफमा लगातार ४ पटक स्वर्ण पदक विजेता र एसियाली खेलकुदमा सहभागिता जनाउने पहिलो नेपाली एथलेटमध्येका एक वैकुण्ठ मानन्धरलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धावकहरुको उपस्थिति रहनेछ ।

दौड सुरु हुने स्थान र रुटमा सहिद गेटबाट सुरु भइ जमल, लैनचौर, नारायणगोपाल चोक, गोल्फुटार, बुढानिलकण्ठ, चपलीघुम्तीबाट देब्रे मोडेर तल्लो पासीकोट श्रीराम स्कुल हुँदै नेपाली कल्चर मिडिया हाउससम्म पुग्ने आयोजकले जनाएको छ।

यससँगै आयोजक स‌ंयोजक मगरले फागुन १३ गते दिउँसो १ बजे नाचघरमा सांस्कृतिक कार्यक्रम गरिने बताएका छन् । उहाँले सांस्कृतिक कार्यक्रमबाट उठेको सहयोगले प्रथम सहिद लखन थापा मगर स्मृति भवन निर्माणमा योगदान पुग्ने बताउनुभयो ।