• २८ माघ २०८२, बुधबार

ओझेलमा सुदापको चाङलुङ गुफा

blog

तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफा । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे
हिले, माघ २८ गते।
प्रशस्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफा ओझेलमा परेको छ। पूर्वाधार तथा प्रचारप्रसार भए पनि गुफाले अपेक्षित रूपमा पर्यटक आकर्षित गर्न सकेको छैन। करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा करिब १५० मिटर लामो गुफा मुख्य आकर्षणका रूपमा रहेको छ।

त्यस्तै, साना–ठूला गरी एक दर्जनभन्दा बढी गुफा यहाँ रहेका छन्। प्राकृतिक रूपमा मिलेर बसेका ढुङ्गाका थाक, ठूला–ठूला चट्टान, पहरा तथा विभिन्न प्रजातिका वनस्पति यहाँका प्रमुख आकर्षण भएको स्थानीय बिनोद भट्टराईले जानकारी दिनुभयो।

यहाँ चाङलुङ देवी, मच्छिन्द्र देवीलगायत अन्य देवीदेवताको वासस्थान रहेको किंवदन्ती छ। स्थानीयले आदिमकालदेखि नै विशेष पूजा–आराधना गर्दै आएको स्थानीय काजिमान आँखेवा बताउनुहुन्छ। किंवदन्तीअनुसार प्राचीनकालमा चाङलुङ गुफाबाट चार किलोमिटर माथि रहेको दारेगौँडाबाट एक बिजुवानी र एक कुकुर गुफाभित्र प्रवेश गर्दा कुकुर मात्र बाहिर निस्किएको र बिजुवानी भने गुफाभित्रै हराएको बताइन्छ। उनी नै चाङलुङ देवी र मच्छिन्द्र देवीका रूपमा परिणत भएको विश्वासमा स्थानीयले पूजाआजा गर्दै आएका छन्।

कोशी राजमार्गअन्तर्गत धनकुटाको सिधुवा बजारबाट शुक्रबारे बजार हुँदै छथर गाउँपालिका–५ मार्सेसम्म १२ किलोमिटर पक्की सडक र त्यहाँबाट तीन किलोमिटर कच्ची सडक पार गरी चाङलुङ गुफा पुग्न सकिन्छ। गुफाको पर्यटन प्रवद्र्धनका लागि तीनै तहका सरकारले लगानी गरेका छन्। विसं २०७५ यता पर्यटन प्रवद्र्धनका लागि तीन तहका सरकारबाट करिब चार करोड रुपैयाँ खर्च भइसकेको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो।

पर्यटक आकर्षित गर्न स्वागतद्वार, चट्टाने पहराको टुप्पोमा रिफ्रेसमेन्ट (हावाघर), सिँढी मार्ग, रेलिङ, फलैँचा तथा ‘लभ पार्क’ जस्ता संरचना निर्माण गरिएका छन्। कतिपय संरचना अझै निर्माणाधीन अवस्थामा रहेको वडाध्यक्ष महेन्द्र मादेनले जानकारी दिनुभयो। प्राकृतिक रूपमा अत्यन्त सुन्दर र अनौठो लाग्ने चाङलुङ गुफालाई भविष्यमा पूर्वकै अब्बल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ।

तर पूर्वाधार निर्माणका क्रममा धार्मिक आस्थामा केही असर पर्ने गरी संरचना बनेकाले धार्मिक पर्यटकको संख्या घट्दै गएको पनि उहाँले बताउनुभयो। गुफाभित्र छिर्दा कतिपय स्थान साँघुरा र असहज हुने तथा उज्यालोको अभावका कारण समस्या हुने गरेको पर्यटकको गुनासो छ। भित्र धेरै ओढार भएकाले बाहिर निस्कने मार्ग पत्ता लगाउन कठिन हुने गरेको तेह्रथुम फेदापका कमल बुढोथोकीले बताउनुभयो।

उचित प्रकाश व्यवस्था र दिशानिर्देशन (एरो) राखिए गुफाभित्रको यात्रा सहज हुने स्थानीयको भनाइ छ। लाइट र एरोको व्यवस्था नहुँदा कतिपयलाई आएको बाटोबाटै फर्किनुपर्ने अवस्था रहेको सदिक्षा खड्काले बताउनुभयो। यद्यपि, कतिपय पर्यटक भने अँध्यारो भित्री बाटो पहिल्याउँदै हिँड्नु नै गुफा भ्रमणको स्मरणीय अनुभव हुने बताउँछन्।