रौतहट समाचारदाता
रौतहट, माघ २८ गते । मत माग्ने शैलीका कारण रौतहट क्षेत्र नं. ४ मा चर्चामा रहनुभएका प्रतिनिधि सभा सदस्यका उम्मेदवारी ऋषि धमलालाई त्यहाँका स्थानीय उम्मेदवारसँग भिड्न चुनौती रहेको छ ।
लामो समयसम्म पत्रकारिता गर्दै आउनुभएका पत्रकार धमला पत्रकारिता छोडेर आगामी प्रतिनिधि सभा निर्वाचनमा आमजनता पार्टी (आजपा) का तर्फबाट उम्मेदवार बन्नुभएको छ । उहाँले ‘जनताका आधारभूत आवश्यकताको प्रत्याभूति र रोजगारीका लागि उद्योगधन्दाको स्थापना’ भन्ने नारासहित आफ्नो चुनावी अभियान तीव्र पार्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, “अब म प्रश्न सोध्ने हैसियतमा होइन, रौतहटको समस्या समाधान गर्ने जिम्मेवारीमा उभिएको छु । रौतहट–४ को समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा ठोस काम गर्ने छु । मलाई जनताले विश्वास गरेका छन् भन्ने कुरामा म विस्वस्त छु ।”
अन्य दलका नेताभन्दा नेता धमलाको मत माग्ने फरक शैलीका कारण उहाँ चर्चामा हुनुहुन्छ । एकाथरीले उहाँको शैलीलाई सकारात्मक रूपमा लिएका छन् भने केहीले मनोरञ्जनका रूपमा लिएका छन् । उहाँले आफ्नो क्षेत्रका कतिपय बिरामीलाई उपचारका लागि अस्पताल भर्ना र आर्थिक सहयोग गरी वाहवाही बटुल्नु भएको छ । जनतासँग प्रत्यक्ष संवाद, हास्यव्यङ्ग्य मिसिएको भाषण र आत्मीय व्यवहारले उहाँको प्रचार अभियानलाई सकारात्मक र नकारात्मक दुवै पक्षबाट हेरिएको छ ।
निर्वाचन क्षेत्र–४ गरुडाका युवा व्यवसायी रामानन्द साह भन्नुहुन्छ, “जनता रिझाउन उहाँ कहिले किसानका खेतबारीमा पुगी उखु बोकिदिनुहुन्छ, कहिले मिठाई पसल पुगी जेरी पकाउनुहुन्छ, कहिले ठेला व्यापारीको चटपटेसमेत बनाइदिनुहुन्छ । जनताको पीडामा रोइ पनि दिने र खुसीमा रमाइ पनि दिने जस्ता क्रियाकलापले उहाँ चर्चित उम्मेदवार हुनुहुन्छ । उक्त क्रियाकलापले एकातिर उहाँले जनताको मन जित्दै अघि बढ्नुभएको छ भने अर्कोतिर उहाँको शैलीलाई सामाजिक सञ्जालमा मजाकमा उडाइएको पनि छ ।”
नेता धमलाले आजपाको नीति तथा कार्यक्रमप्रति विश्वास व्यक्त गर्नुहुँदै मधेशको विकास र स्थानीय मुद्दामा केन्द्रित रहने बताउनुभएको छ । रौतहट–४ का एक शिक्षकले सञ्चारकर्मी रहँदासम्म टेलिभिजनमार्फत जनताको आवाज उठाउँदै आउनुभएका नेता धमलाले अवसर पाउनुभयो भने सोको कार्यान्वयनसमेत गर्न सक्नुहुने छ । उहाँका अनुसार नयाँ सोच र स्वच्छ नेतृत्व चाहने यस क्षेत्रका युवाले धमलाको आगमनलाई सकारात्मक रूपमा लिएका पनि छन् ।
यस क्षेत्रमा यस पटक नेपाली कांग्रेसका देवीप्रसाद तिमल्सिना, नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई र प्रगतिशील लोकतान्त्रिक पार्टीका सत्यनारायण भगत चुनावी मैदानमा हुनुहुन्छ । यसै गरी नेकपा (एमाले) का रामजी साह, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, जनमत पार्टीका कल्याण पटेल र उज्यालो नेपालका तुलसी गिरीसमेत चुनावी दौडाहामा हुनुहुन्छ । उहाँहरूसँग ऋषि धमलाको प्रतिस्पर्धा छ । उहाँहरू सबै त्यहीँका स्थानीय हुनुहुन्छ भने नेता धमला बाहिरका हुनुहुन्छ । स्थानीय उम्मेदवारसँग धमलालाई ठुलो चुनौती रहेको बताइएको छ ।
यस क्षेत्रमा कांग्रेस र एमालेबिच परम्परागत प्रभाव रहे पनि आजपाका धमलाको प्रवेशले चुनावी समीकरणमा नयाँ चासो थपेको बुद्धिजीवीहरू बताउनुहुन्छ । शिक्षा पेसाबाट निवृत्त हुनुभएका सहप्राध्यापक ऋषिराम पोखरेल भन्नुहुन्छ, “सञ्चारकर्मीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गर्नुभएका धमलाले प्रत्यक्ष जनसंवाद गरी जनभावना बुझ्ने जनमुखी कार्यशैलीका कारण केही मतदाता समूहमा आकर्षण बढेको देखिन्छ ।
राजनीतिमा नयाँ अनुहारका रूपमा उम्मेदवारी पाउनुभएको उहाँको कमजोर सङ्गठनात्मक सञ्जालका कारण मतदाताको विश्वास जित्नुपर्ने चुनौतीसमेत रहेको देखिन्छ । निर्वाचन मिति नजिकिँदै जाँदा यस क्षेत्रमा पत्रकारबाट जनप्रतिनिधि बन्ने धमलाको यात्राले स्थानीय र राष्ट्रिय दुवै राजनीतिक वृत्तमा चर्चा पाएको छ ।