• २८ माघ २०८२, बुधबार

हरेक पालिकामा अनुगमनकर्ता खटाइँदै

blog

जिल्ला निर्वाचन कार्यालय सल्यान । तस्बिर : शंक केसी

शंक केसी
सल्यान, माघ २८ गते ।
सल्यान जिल्लाका ८३ वटै वडामा सञ्चालन हुन लागेको मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वयंसेवकहरूको नियमित अनुगमन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार मतदाता शिक्षाका लागि खटाइने स्वयंसेवकहरू फागुन ३ गतेदेखि वडास्तरमा परिचालित हुनेछन् ।

मतदाता शिक्षाका गतिविधि तोकिएको कार्ययोजना अनुसार सही रूपमा कार्यान्वयन भएनभएको सुनिश्चित गर्न जिल्लाभरका दसवटै स्थानीय तहमा अनुगमनकर्ता खटाइने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले जानकारी दिनुभयो । अनुगमनकर्ताले आफ्नो पालिकामा तोकिएको स्वयंसेवकलाई कार्यक्रम सञ्चालन गर्न आवश्यक सहजीकरण र स्वयंसेवकहरूले दैनिक सञ्चालन गर्ने कार्यक्रमको अनुगमन गरी प्रतिवेदन तयार गर्नेछन् ।

अनुगमनकर्ताहरूलाई कार्यक्रमको उद्देश्य, कार्यक्षेत्र, जिम्मेवारी तथा अनुगमनका मापदण्डबारे जानकारी गराउन जिल्ला निर्वाचन कार्यालय सल्यानले बुधबार विशेष तालिमको आयोजना गरेको छ । आममतदातालाई सही र उपयोगी जानकारी दिन र जिम्मेवार तथा सचेत रूपमा मतदानका लागि निर्वाचन शिक्षालाई विशेष महत्त्व दिइएको कार्यालयले जनाएको छ । यसबाट मतदानमा सहभागी हुने मतदाताको सङ्ख्या बढाउने र बदर मत कम गर्ने लक्ष्य राखिएको छ ।

कार्यालयका अनुसार निर्वाचन शिक्षा कार्यक्रममार्फत मतदाताले कसरी मतदान गर्ने, मतपत्र कसरी प्रयोग गर्ने, गोप्य मतदान किन महत्त्वपूर्ण छ, निर्वाचन आचारसंहिता के हो र गलत तथा भ्रामक सूचनाबाट कसरी बच्ने भन्ने कुरा बुझ्नेछन् । सल्यानमा कुल मतदाता एक लाख ६२ हजार ४४९ जना रहेका छन् । जसमध्ये महिला मतादाता ७९ हजार १२८ र पुरुष मतदाता ८३ हजार ३२१ जना रहेका छन् ।