प्रतीक इच्छुक शर्मा
सल्यान, माघ २८ गते । सल्यान जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियान सुरु गरिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर दुई हजार ६ सय ६९ किशोरीलाई लक्षित गरी खोप प्रदान गरिँदै छ । यो अभियान पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो ।
कार्यालयले जानकारी दिएअनुसार कक्षा ६ मा अध्ययनरत किशोरी तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीलाई प्राथमिक रूपमा खोप दिइँदै छ । साथै गत वर्ष खोप लगाउन छुटेका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेत यसपटकको अभियानमा समावेश गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तथा खोप संयोजक तारा रिजालले जिल्लाका १० वटै स्थानीय तहमा रहेका २४७ खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको वताउनुभयो । उहाँका अनुसार यो देशव्यापी खोप अभियान माघ २७ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ ।
विद्यालय जाने किशोरीलाई सम्बन्धित विद्यालयमै खोप लगाइने व्यवस्था गरिएको छ भने विद्यालय नजाने किशोरीलाई आ–आफ्नो पायक पर्ने खोप केन्द्रमा उपस्थित भइ खोप लगाउन आग्रह गरिएको छ । अभियानलाई प्रभावकारी बनाउन करिब पाँच सय स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले वताउनुभयो । उहाँका अनुसार जिल्लाका सबै स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायसँग समन्वय गरेर अभियान सञ्चालन गरिएको जनाइएको छ ।
एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण मानिने भाइरसबाट जोगाउन मद्दत गर्ने भएकाले लक्षित उमेर समूहका किशोरीलाई अनिवार्य रूपमा खोप लगाउन पर्ने डा. बुढाको भनाइ छ ।
यस अभियानले दीर्घकालीन रूपमा महिला स्वास्थ्य सुधार तथा पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।