• २६ पुस २०८१, शुक्रबार

सूचनाका लागि राससमै भर पर्नुपर्ने गरी राससले आफूलाई विकसित गरोस् : सचिव डा. अर्याल

blog

काठमाडौँ,  साउन १ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले राष्ट्रिय समाचार समिति (रासस)ले नेपालका सञ्चारमाध्यमहरू समाचारका लागि राससमै भर पर्नुपर्ने गरी आफूलाई विकसित गर्दै लैजानुपर्ने सुझाव दिनुभएको छ ।

राससले आजबाट सुरु गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाका लागि शुभकामना सन्देश दिँदै उहाँले समाचार प्रदायक संस्थाका रूपमा छ दशकभन्दा लामो समयदेखि सेवा गर्दै आएको राससप्रति मुलुकका सञ्चारमाध्यमहरू भर पर्नुपर्ने वा राससको समाचारलाई विश्वसनीय स्रोत मानेर जान सक्ने गरी आफूलाई प्रविधिसँगै परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभयो ।

सचिव डा. अर्यालले शुभकामना सन्देशमा भन्नुभएको छ, “समाचार सामग्री निर्माण गर्ने क्रममा राससले आजदेखि एउटा फड्को मारेको छ । प्रविधिको उपलब्धता र प्रविधिमा भएको विकास यी सबै कुरालाई हेरेर अब श्रव्य दृश्यसम्बन्धी सामग्री पनि उत्पादन गर्ने जमर्को गरेको छ, त्यसका लागि म राससका सम्पूर्ण कर्मचारी, अध्यक्ष र व्यवस्थापन पक्षलगायत सम्पूर्णलाई हार्दिक बधाई दिन चाहन्छु ।” 

सचिव डा. अर्यालले श्रव्य दृश्य सेवाले समाचारको विश्वसनीयतामा थप सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले सन्देशमा भन्नुभएको छ, “प्रविधिको विकासले गर्दा सूचनामा नागरिकको पहुँच छिटो पुगेको छ, जोसँग पनि सूचना छ र समाचार सामग्रीमा पहुँच छ । रासस समाचार उत्पादन र वितरण गर्ने संस्था भएका कारण यसलाई अरु सञ्चारमाध्यमभन्दा पनि विश्वसनीय र गुणस्तरीय बनाउनु जरुरी छ । यस कार्यमा राससले सुरु गर्न लागेको भिडियो सेवा उपयोगी हुनेछ ।”