• २७ माघ २०८२, मङ्गलबार

शिक्षामा अब्बल चेपाङ समुदायबाट पाँच उम्मेदवार

blog

शालिग्राम नेपाल
चितवन, माघ २७ गते ।
प्रतिनिधिसभा निर्वाचनमा अति सिमान्तकृत चेपाङ समुदायबाट पाँच जनाले उम्मेदवारी दिएका छन्। चितवन, धादिङ, मकवानपुर र गोरखा मुख्य बसोबास क्षेत्र रहेको चेपाङ समुदायबाट विभिन्न दलका तर्फबाट एक जना प्रत्यक्ष र चार जना समानुपातिकतर्फ उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी भएका हुन्।

नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले लामो समयदेखि पछाडि पारिएको चेपाङ समुदायले पछिल्लो समय अवसर प्राप्त गर्न थालेको बताउनुभयो। यसपटकको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं। २ बाट सुवराज चेपाङ प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएको छ। संयुक्त नागरिक पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी उहाँले पछाडि पारिएको समुदाय मात्र नभई समग्र क्षेत्रकै विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो।

यसैगरी नेकपा एमालेका तर्फबाट सन्तबहादुर चेपाङ चितवन निर्वाचन क्षेत्र नं. २ बाट समानुपातिकतर्फ उम्मेदवार बन्नुभएको छ। चितवनको कालिका नगरपालिका शक्तिखोर निवासी उहाँ विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहनुभएको छ। विज्ञान विषयमा स्नातकोत्तर तह उत्तीर्ण सन्तबहादुरले लामो समयपछि आफ्नो समुदायले अवसर पाएको बताउनुभयो। देश–विदेशमा अध्ययन भ्रमण गरी सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्नुभएका उहाँले विजयी भए सामाजिक विकासमा आफूलाई समर्पित गर्ने बताउनुभयो।

नेकपा (माओवादी केन्द्र) का तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र नं. २ मा समानुपातिक उम्मेदवार मंगलसिंह चेपाङ हुनुहुन्छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा चेपाङ समुदायलाई पछाडि पारिँदै आएको उल्लेख गर्दै उहाँले अहिले अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो। मकवानपुरको मनहरी गाउँपालिका–३ सिद्धकाली निवासी ३९ वर्षीय मंगलसिंह पढाइमा अब्बल हुनुहुन्थ्यो। कक्षा ६ मा अध्ययनरत रहँदै तत्कालीन माओवादी आन्दोलनमा सहभागी हुनुभएको उहाँ प्लाटुन कमान्डरसम्म भई सशस्त्र संघर्षमा संलग्न हुनुभएको थियो। शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजनका क्रममा स्वेच्छिक अवकाश लिनुभएको उहाँ हाल सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय हुनुहुन्छ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट चितवन निर्वाचन क्षेत्र नं. १ मा विश्वास चेपाङ र निर्वाचन क्षेत्र नं. २ मा सोमबहादुर चेपाङ समानुपातिक उम्मेदवार बन्नुभएको छ। चितवनको राप्ती नगरपालिका–११ स्थित कोराक गाउँ निवासी ३३ वर्षीय विश्वास चेपाङले संसद्मा पुग्ने अवसर पाए चेपाङ समुदायको प्रभावकारी प्रतिनिधित्व गर्ने बताउनुभयो। समुदायमा रहेको परनिर्भरता हटाई आत्मनिर्भर बनाउनेतर्फ आफू लाग्ने उहाँको भनाइ छ। उहाँ हाल एक गैरसरकारी संस्थामा कार्यरत हुनुहुन्छ। उहाँले बेलायतको लिंकन विश्वविद्यालयबाट समाजशास्त्रमा ‘मास्टर्स इन एडभान्स्ड डेभलपमेन्ट’ तथा काठमाडौं विश्वविद्यालयबाट विकास अध्ययनमा एमफिल अध्ययनरत रहेको बताउनुभयो।

२०७८ सालको जनगणनाअनुसार नेपालभर चेपाङ समुदायको जनसंख्या ८४ हजार ३६४ रहेको छ। त्यसमध्ये सबैभन्दा धेरै ३५ हजार ६३७ जना चितवनमा बसोबास गर्छन्। चेपाङ समुदायको मुख्य बसोबास क्षेत्र चितवन, मकवानपुर, धादिङ र गोरखा हुन्।