• २६ माघ २०८२, सोमबार

बदेडावासीको उम्मेदवारसँग सिँचाइको माग

blog

पुस्तौंदेखि सिँचाइ सुविधाबाट वञ्चित बदेडा गाउँ । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, माघ २६ गते ।
बाजुराको बुढीगङ्गा नगरपालिका–१०, बदेडाका स्थानीयले गाउँमा आउने उम्मेदवारसँग सिँचाइ सुविधाको माग गर्दै आएका छन् ।

पुस्तौंदेखि यहाँका झण्डै दुई सयभन्दा बढी घरपरिवार खानेपानी र सिँचाइ सुविधाबाट वञ्चित हुँदै आएका थिए । २०७६ सालमा नगरपालिकाको समन्वय तथा गैरसरकारी संस्थाको आर्थिक सहयोगमा खानेपानीको समस्या समाधान भए पनि सिँचाइको समस्या भने अझै उस्तै रहेको छ ।

गाउँमा पर्याप्त जमिन भए पनि सिँचाइको सुविधा नहुँदा स्थानीयले हिउँदमा अधिकांश जमिन बाँझो राख्नुपर्ने अवस्था रहेको छ । यही समस्याका कारण मत माग्न आउने उम्मेदवारसँग स्थानीयले सिँचाइको माग राख्ने गरेका हुन् ।

बुढीगङ्गा नगरपालिका–१०, बदेडाका मन सार्कीका अनुसार गाउँमा लामो समयदेखि खानेपानीको समस्या थियो, तर केही वर्षयता त्यो समस्या समाधान भएको छ । “अब हाम्रो मुख्य समस्या सिँचाइको हो । चुनावी अभियानका क्रममा गाउँमा आउने जो–कोही उम्मेदवारले सिँचाइको व्यवस्था गरिदिए हामी उसैलाई मत दिन तयार छौँ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार बदेडामा झण्डै दुई सयभन्दा बढी घरपरिवार छन् र अधिकांश जमिन पाखो भएकाले हिउँदमा सिँचाइको अभाव हुन्छ । सिँचाइ नहुँदा हिउँदमा अधिकांश जमिन बाँझो रहने र खाद्यान्न अभाव हुने गरेको स्थानीयको गुनासो छ ।

बुढीगङ्गा नगरपालिकाभर सबैभन्दा बढी जमिन बदेडा गाउँमा रहेको भए पनि सिँचाइ सुविधा नहुँदा पानीभुवा, औल, बाम्नेमाडु, भतुडा, कबलतोला, खिरेरुख, बाउकुडा, माथिखेत र खापरमाण्डु लगायतका क्षेत्रमा हजारौँ रोपनी जमिन हिउँदमा बाँझो रहने गरेको स्थानीय बताउँछन् ।

खानपानको जोहो गर्न यहाँका धेरै युवा रोजगारीका लागि भारतका विभिन्न स्थानमा जाने गरेका छन् । सिँचाइ सुविधा उपलब्ध भए जमिनको सदुपयोग भई स्थानीय युवाले रोजगारीका लागि बाहिर जानुपर्ने अवस्था कम हुने स्थानीयको भनाइ छ ।

बुढीगङ्गा नगरपालिका–१० का वडा सदस्य जगु सार्कीका अनुसार सिँचाइका लागि पारी रहेको मैरे खोलाबाट पानी ल्याउनुपर्ने भए पनि त्यसका लागि ठुलो बजेट आवश्यक पर्छ । “त्यो बजेट पालिकासँग छैन, त्यसैले प्रदेश वा सङ्घीय सरकारसँग माग राख्नुपर्ने अवस्था छ,” उहाँले बताउनुभयो । माग राखिए पनि हालसम्म सुनुवाइ नभएको उहाँको भनाइ छ ।

यस पटक बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी, नेकपा (एमाले) का लालबहादुर थापा, नेकपा का प्रकाशबहादुर शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा, राप्रपाका केशरबहादुर शाही, नेकपा (माओवादी केन्द्र) का भूपेन्द्र सी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का दीपक डिसी तथा स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही चुनावी मैदानमा छन् ।

बाजुरामा ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र अन्य दुई गरी कुल ८७ हजार ८६१ मतदाता रहेका छन् । मतदानका लागि ७७ मतदानस्थलमा ११८ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गत महतले बताउनुभयो ।