• २ असार २०८१, आइतबार

‘कांग्रेसलाई पहिलो र प्रिय पार्टी बनाउँछु’

blog

ललितपुर, साउन १ गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचदलीय गठबन्धनलाई अझै बलियो बनाएर आगामी निर्वाचनमा जाने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै उहाँले सबैलाई साथ लिएर जानु नै अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच संविधान र लोकतन्त्रको रक्षाका लागि भएको गठबन्धन अझ सशक्त बनाउने बताउनुभयो । 

सभापति देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले भन्नुभयो, “प्रचण्डजीलाई गिरिजाबाबुले लिएर आउनुभयो । अहिल्यै छोड्ने बेला भएको छैन । माधवकुमार नेपालले केपी ओलीलाई छाडेर आउनुभएको हो । त्यसैले साथै लैजाऔँ । गठबन्धन कायम गरेरै जानुपर्छ ।”

एक्लै बहुमत हासिल गर्न निकै कठिन रहेको बताउनुहुँदै सभापति देउवाले गठबन्धनसँगै पार्टीलाई आन्तरिक रूपमा एकताबद्ध बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “सबैलाई साथ लिएर जाऔँ । एक भएर पार्टी अघि बढ्दा राम्रो हुन्छ ।” नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घको समिति गठन गर्दा पार्टीमा छलफल गरिएको प्रस्ट पार्नुहुँदै उहाँले भन्नुभयो, “कांग्रेसलाई पहिलो र प्रिय बनाएर मैले छाड्ने हो, विश्राम लिने हो, आन्तरिक विश्वास कायम गर्नुपर्छ । म यही आग्रह गर्छु ।”

उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको चुनावी तालमेल सफल भएको बताउँदै आगामी रणनीतिका सम्बन्धमा विचार राख्नुभयो । उपसभापति धनराज गुरुङले पार्टीको नीतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । महामन्त्री गगनकुमार थापाले पार्टीको विधान महाधिवेशन तत्कालै गर्नुपर्नेमा जोड दिँदै सरकारका कामकारबाहीलाई अझै प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभयो । महामन्त्री विश्वप्रकाश शर्माले अर्थतन्त्रबारे श्वेतपत्र जारी गरेर जनतासमक्ष सत्यतथ्य राख्नुपर्ने बताउँदै सुशासन र जनहितका सवालमा सङ्घ र प्रदेश सरकारबीच पर्याप्त समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

हतियार किन्ने प्रक्रिया रोकियो

कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीका लागि हातहतियार किन्ने निर्णय पूर्ववर्ती सरकारकै रहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पूर्ववर्ती सरकारकै अर्थमन्त्रीले अघि बढाएको प्रक्रिया हो । प्रहरीले पनि त्यही कारण खरिद प्रक्रिया अघि बढाएको हो । तर अहिलेलाई हतियार किन्ने प्रक्रिया रोकियो ।”

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे प्रधानमन्त्री देउवाले जवाफ माग्नुभएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले भारतीय आयल कर्पोरेसनलाई ३१ अर्ब रुपियाँ तिर्नुपर्ने बाँकी रहेको र अहिले ५५ अर्ब घाटामा रहेको जानकारी दिनुभयो ।

असार २७ गतेदेखि जारी बैठकमा शनिबार सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियारले बोल्नुभयो । त्यसैगरी केन्द्रीय सदस्यहरू प्रवक्ता डा. प्रकाशशरण महत, बालकृष्ण खाण, दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, सीता गुरुङ र आमन्त्रित गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बोल्नुभयो । केन्द्रीय कार्यसमितिको बैठक साउन २ गते सोमबार पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।