• २ असार २०८१, आइतबार

सहकारीलाई सवा करोड अनुदान

blog

सामूहिक छलफल गर्दै सहकारीका सदस्य ।तस्बिर : राजन रावत

हुम्ला,साउन १ गते । जिल्लाका सातवटा गाउँपालिकामध्ये छवटा गाउँपालिकाका सहकारीहरूलाई कृषि विकास कार्यालयले अनुदान सहयोग उपलब्ध गराएको छ । सहकारीका सदस्यलाई सस्तो कर्जामा कृषि उत्पादनमा लगानी गर्नका लागि कार्यालयले अनुदान बजेट उपलब्ध गराएको हो । 

कार्यालयका सूचना अधिकारी धर्मेन्द्र अधिकारीले सहकारीमा आबद्ध किसानलाई कृषि उत्पादनप्रति आकर्षण गर्न जिल्लाका आठवटा सहकारीलाई अनुदान रकम उपलब्ध गराइएको बताउनुुभयो । आठवटै सहकारीमा महिला सदस्य मात्र आबद्ध छन् ।

अनुदान पाउने सहकारीमा सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली र ताँजाकोटका एक-एक र अदानचुली गाउँपालिकाबाट तीनवटा सहकारी संस्थाले सो अनुदान रकम पाएका छन् । यसका लागि कार्यालयले सबै सहकारी गरी कुल एक करोड २५ लाख रुपियाँ अनुदान दिएको छ । 

यसका लागि उहाँले सहकारीलाई अनुदान गएको रकम सदस्यहरूले कृषि क्षेत्रको उत्पादनका लागि मात्र कर्जास्वरूप लिनुपर्ने बताउनुभयो । कृषि उत्पादन वृद्धिका लागि सहकारीहरूलाई यति धेरै रकम अनुदान गएको पहिलो पटक हो । कर्जास्वरूप लिएको रकमको वार्षिक ब्याजदर भने पाँच प्रतिशतभन्दा बढी सहकारीले लगाउन पाउने छैनन् ।