गत साता हामीले गुरुपूर्णिमा मनायौँ । सामाजिक सञ्जालमा गुरुभक्तिका सन्देशहरू प्रवाह ग¥यौँ । गुरुको महिमा र आदर्श योभन्दा धेरै छ । आजका विद्यार्थी भोलिका राष्ट्रका कर्णधार हुन् । देश हाँक्ने जनशक्ति हुन् । उनीहरूलाई सक्षम, सबल बनाउने मुख्य जिम्मा शिक्षकको नै हो । यसकारण विद्यार्थीलाई काँचो माटो भनिन्छ, जसलाई कुमालेले जे बनाउन चाह्यो उही बनाउन सक्छ । विद्यार्थीका हकमा पनि शिक्षक कुमाले हुन्, ता कि आफ्ना विद्यार्थीलाई जस्तो शिक्षा दियो, उनीहरू त्यस्तै बन्छन् ।
यसैकारण संसारका सबैजसो देशमा शिक्षकलाई सम्मानपूर्वक हेरिन्छ । उनीहरूप्रति आदर्श व्यवहार गरिन्छ । अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले त मेरो छोरोलाई यी विषय सिकाइदिनू भनी आफ्नो छोरो पढ्ने विद्यालयका प्रधानाध्यापकलाई चिठी नै लेखेका थिए । आदर्श नभई व्यावहारिक शिक्षामा जोड दिँदै उनले लेखेको ‘मेरो छोराले के सिकोस्’ नामक चिठी आज पनि प्रत्येक शिक्षकका लागि सिकाइको मार्गदर्शन बन्न सक्छ । विद्यार्थीका लागि सिकाइको मानक बन्न सक्छ र अभिभावकका लागि उपयुक्त दृष्टान्त बन्न सक्छ ।
गौरव गर्नुप-यो
संसारमा शिक्षकहरू आफ्नो पेसाप्रति गौरवबोध गर्ने गर्छन् । हामीकहाँ यसको ठीक उल्टो छ । हाम्रो समाजमा डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी तथा अन्य पेसाकर्मीलाई आदरका रूपमा हेर्ने गरिन्छ तर शिक्षण पेसालाई हेयको दृष्टिले हेर्ने गरिन्छ । डाक्टर, इन्जिनियरलगायतका पेसाकर्मी उत्पादन गर्ने अन्ततः शिक्षक नै हुन् र शिक्षकजस्तो पवित्र पेसा अरू हुनै सक्दैन । शिक्षण पेसा एउटा तपस्या हो । एउटा बालकलाई समाज र राष्ट्रको असल नागरिक बनाउने काम शिक्षकको हो ।
कक्षाकोठामा भएकै बालबालिका पछि गएर समाज र राष्ट्रको अभिन्न अङ्ग बन्दछन् । ती असल भए समाज र राष्ट्र पनि असल हुन्छ । ती खराब भए राष्ट्र नै खराब हुन्छ । तसर्थ राष्ट्र बनाउने जस्तो पुण्य काम कसरी हेय हुन सक्छ ? शिक्षकले ‘म शिक्षक हुँ’ भनेर गौरवका साथ भन्न सक्नुपर्छ । शिक्षक नभए कोही पनि राजनेता, वैज्ञानिक आदि हुनै सक्दैनन् । अरू पेसा नपाएरभन्दा पनि तिनीहरूलाई बनाउन नै म शिक्षक भएको हुँ, मैले पनि अरू पेसा गर्न सक्थेँ तर अरूलाई असल बनाउन मैले शिक्षण पेसा नै रोजेको हुँँ भन्ने आँट प्रत्येक शिक्षकले गर्नुपर्दछ ।
भारतमा अङ्ग्रेजहरूको राज भएका बेलामा महात्मा गान्धी दक्षिण अफ्रिकामा वकालत गर्दै थिए । त्यहाँ रङ्गभेदको विरुद्धमा लडिरहेका बेला उनलाई भारतीय राजनीतिमा ल्याउन प्रमुख भूमिका बालगङ्गाधर तिलकले खेलेका थिए । भारतको राष्ट्रिय कंग्रेसका शीर्ष नेता रहेका उनी एउटा विद्यालयमा शिक्षक नै थिए । त्यहीँबाट सक्रिय राजनीतिमा उनी लागेका थिए । जब भारत १९४७ मा स्वतन्त्र हुने निश्चित भयो एक पत्रकारले बालगङ्गाधर तिलकलाई सोधे, “अब हाम्रो राष्ट्र स्वतन्त्र हुने निश्चित भइसक्यो, तपाईं स्वतन्त्र भारतको कुनै मन्त्रालयको मन्त्री हुन चाहनुहुन्छ ?” बालगङ्गाधरले पत्रकारलाई जवाफ दिए, “म कुनै पनि मन्त्रालयको मन्त्री हुन चाहन्नँ, म त आफ्नै शिक्षण पेसामा फर्केर स्वतन्त्र भारतमा असल नागरिक बनाउनमा लाग्नेछु, जसले गर्दा भारत स्वतन्त्र, सार्वभौम, प्रगतिशील, उन्नतितिर लागोस् ।” यो एउटा कर्तव्यनिष्ट शिक्षकले देशका लागि गरेको त्याग र समर्पणको सटीक उदाहरण थियो ।
नेपालमा पनि राजनीतिले बाटो समातिसकेको छ । अब शिक्षकहरू असल नागरिक तयार गर्नमा आफूलाई समर्पित गर्नुुपर्दछ । सच्चा शिक्षकको निष्ठा यसैमा झल्किन्छ तर कैयौँ शिक्षक विगतमा आफूले गरेको योगदानको सावाँ मात्र होइन ब्याजसमेत खोज्दै छन् । विभिन्न राजनीतिक दलको भ्रातृ सङ्गठनमा बसेर काम गर्नु त सामान्य नै थियो, आजकल त राजनीतिक दलकै सदस्य बनेर दोहोरो चरित्रसमेत प्रस्तुत गर्न थालेका उदाहरण देखिन्छ । यो शिक्षकका लागि पनि सुहाउने विषय होइन ।
एउटा शिक्षक सधैँ बालबालिका, समाज र सिकारुका लागि पथप्रदर्शक बन्न सक्नुपर्दछ । बालबालिकाको जीवन बनाउने महान् लक्ष्य लिएर अघि बढ्नुका साथै आफ्नो विषय र लक्ष्य जहिले पनि सिक्ने सिकाउने नै हुनुपर्दछ । आफूले अँगालेको शिक्षण पेसालाई संसारकै उत्कृष्ट पेसा सम्झी पेसासँग सन्तुष्टि लिन सके मात्र आदर्श शिक्षकका रूपमा स्थापित हुन सकिन्छ । शिक्षक समग्रमा सिकारुका लागि उदाहरणीय र समाजका लागि अनुकरणीय बनी प्रस्तुत हुन सक्नुपर्दछ । यसैकारण अल्वर्ट आइन्स्टाइन भन्ने गर्थे, “मैले विद्यार्थीलाई पढाउँदिन, केवल पढ्ने वातावरणको सिर्जना गरिदिन्छु ।” समाजमा एउटा कुरा भन्ने तर व्यवहार भने अर्कै गर्ने छुट शिक्षकलाई छैन र हुनु पनि हुँदैन ।
शिक्षकले कक्षामा सुर्तीजन्य वस्तु मानिसका लागि हानिकारक हो भनी त्यसका दोष कक्षाको बोर्डभरि लेख्ने, विद्यार्थीलाई नखानु पनि भन्ने तर आपूm शिक्षक बस्ने कोठामा गएर गफ गर्दै चुरोट वा खैनी खाइरहेको ती विद्यार्थीले देख्दा उनीहरूमा के असर पर्ला ? विद्यार्थीको मनोविज्ञानले के भन्ला ? यही अवस्था मादक पदार्थ सेवनमा देखिन सक्छ । यो ज्यादै विचारणीय कुरा हो । खासमा शिक्षण पेसाको मर्यादा राख्ने जोगाउने काम पनि शिक्षकको नै हो । यी सबैमा असल शिक्षकको सकारात्मक हस्तक्षेपले विद्यार्थीको असल चरित्र निर्माणमा सघाउ पु-याउँछ । अन्यथा किताबका माछा नखानु भने पनि खोलाका माछा खान हुन्छ भन्ने स्थिति पैदा गराउन सक्ने हुँदा असल शिक्षकले यस्ता कुरामा सदैव ख्याल गर्न जरुरी छ । भनिन्छ शिक्षक सधैँ विद्यार्थीभन्दा एक कदम अगाडि हुनै पर्छ ।
शिक्षाले प्रत्येक विद्यार्थीको आचरण बनाउन वा परिवर्तनतिर लगाउन सक्नुपर्छ र अनि मात्र पाठ्यक्रम आदि विषयमा सोच्नुपर्छ । यसैकारण शिक्षाको मूल ध्येय व्यवहारमा आउने सकारात्मक परिवर्तन नै हो भनिएको पाइन्छ । हाम्रो उद्देश्य ठूलो मानिस होइन असल मानिस बनाउनेमा हुनुपर्छ । समाजमा पनि हामीले यही सन्देश नै प्रवाह गर्नुपर्छ । सबै विद्यालयमा पढेका असल भए समाज असल हुन्छ र समाज असल भए राष्ट्र अनि राष्ट्र असल भए संसार नै असल हुन्छ र चारैतिर शान्ति छाउँछ ।
शिक्षकमा ब्रह्माको जस्तो रचनात्मक गुण हुनुपर्छ, जसले विद्यार्थीमा लुकेको गुण प्रकट गर्न मद्दत पु-याओस् । विष्णुलाई जगत्का पालनकर्ता भनिन्छ । गुरुले पनि सबै सिकारुलाई दुःख, सुख, कठिनाइमा सहयोग गरी उनीहरूको पालन गर्नुपर्छ । शिवलाई संहारकर्ता भनिन्छ । बालबालिकामा भएको दुर्गुणहरूको नाश गरी असल मानिस बनाउनमा शिक्षकले राम्रो भूमिका निर्वाह गर्नुपर्छ ।