• २२ असार २०८२, आइतबार

विधि र विचारको खोजी

blog

विधिको सर्वोच्चता लोकतन्त्रको एउटा महìवपूर्ण विशेषता हो । लोकतन्त्रको यो विशेषताले नागरिकका बिचमा समान धारणा राख्ने राज्य प्रणालीको अपेक्षा गरिरहेको हुन्छ । विधि बनाएर सभ्य समाज निर्माणको चाहना पनि बोकिरहेको हुन्छ । नागरिक बराबरी छन् र उनीहरूको बस्ती (समाज) सभ्य, भद्र र थितिसहित क्रियाशील हुन्छ भन्ने विधिको शासनको अन्तर्य हो । समाजको अगुवाइ गर्ने नेताहरू हुन्छन्, त्यहाँ राज्यका संरचना पनि हुन्छन् । ती संरचना सञ्चालनका लागि अधिकारी तोकिएका पनि हुन्छन् । उनीहरू पनि विधिको परिधिभित्र रहेर क्रियाशील हुने हो र त्यो क्रियाशीलताको लाभ नागरिकसम्म पुर्‍याउने हो । यही नै लोकतन्त्र सञ्चालनको कुशल विधि हो । यहाँनेर अझ ख्याल गर्ने कुरा के हो भने समाजमा जस्तोसुकै नेता वा राज्य संरचनाको तल्लो एकाइको जिम्मेवारी प्राप्तकर्ता उपस्थित वा क्रियाशील हुँदा पनि उसलाई निश्चित विधिले बाँधेको हुनु पर्छ, ताकि उसले मनमौजी गर्न नपाओस् । दायित्व तथा जिम्मेवारी बोकेकाहरूलाई उनीहरूको लक्ष्यतर्फ प्रेरित गर्ने काम विधिले नै गर्छ । 

अहिले विधि पछ्याउनेभन्दा पनि शक्तिको प्रदर्शन गर्ने प्रवृत्ति हाबी हुँदै गएको छ । यो लोकतान्त्रिक पद्धति विपरीतको विषय हो । व्यक्तिमा निहित शक्तिले हानि गर्छ भनेरै तानाशाही व्यवस्थाको विकल्पमा विधिको सर्वोच्चताका आधारमा राज्य व्यवस्था सञ्चालन हुनु पर्छ भन्ने मान्यताको खोजीका क्रममा लोकतान्त्रिक पद्धतिको प्रादुर्भाव भएको हो । यो पद्धतिका पनि चुनौती छन् नै । ती चुनौतीबाट जोगाएर व्यवस्थाको लाभ नागरिकसमक्ष पु¥याउने कुशलता नेतृत्वमा हुनु पर्छ । अरस्तुले राजनीतिशास्त्रलाई कला र विज्ञानको संयोजन भनेका छन् । कुनै पनि विषयको अध्ययन, विश्लेषण अनि निष्कर्ष निकाल्दै त्यसका आधारमा कुशलतापूर्वक शासन चलाउन सिकाउने शास्त्रलाई उनले राजनीतिशास्त्र भनेका हुन् । लोकतन्त्रले पनि राजनीतिशास्त्रबाट यही प्रेरणा लिँदै आफूलाई जीवन्त बनाउने आकाङ्क्षा राखेको हुन्छ र प्रयत्न गर्न खोज्छ । यो अध्ययनबिना लहडमा र निजी स्वार्थमा हिँड्ने अनि आफूलाई लोकतन्त्रवादी भन्ने नैतिक धरातल कसैसँग पनि हुँदैन । हाम्रो लोकतन्त्र अहिले यस्तै नैतिक धरातल गुमाउँदै गएको नेतृत्वबाट सञ्चालित हुँदै त छैन ? यतातर्फ पनि हामीले विवेचना गर्दै आफ्नो ठाउँबाट भूमिका खेल्न जरुरी छ । 

लोकतान्त्रिक शासन प्रणालीका सन्दर्भमा त्यति सकारात्मक नरहेका दार्शनिक प्लेटोले आफ्नो मान्यतालाई व्याख्या गर्दै भनेका छन्, ‘लोकतन्त्र भिडको शासन हो, जहाँ लोकप्रियता र भावुक भाषणमार्फत सत्ता लिइन्छ तर दीर्घकालीन सोच वा न्याय हुँदैन ।’ उनी भन्छन्, “लोकतन्त्रले दिने अत्यधिक स्वतन्त्रताको दुरुपयोग हुन्छ र तानाशाहको जन्म हुन्छ ।” आजको अवस्था प्लेटोको विश्लेषण सही साबित त हुँदै गएको छैन ? विधिको शासनमा समस्या र नेतृत्वमा कुशलता अभाव भयो भने अरस्तुले भने जस्तो अवस्था निम्तने हो । राजनीतिक सिद्धान्त, दलहरूको प्रतिबद्धता, संविधान सबैबाट विमुख हुँदै शासन अर्कै बाटोतर्फ मोडिनुको मुख्य कारण पनि त्यही हुन्छ । एउटा नेतृत्व वा अधिकारीसँग विधिका आधारमा चल्ने दृढ सङ्कल्प हुन जरुरी हुन्छ । 

अरस्तुले भने झैँ “ज्ञान, न्याय र तर्कका आधारमा शासन सञ्चालन भयो भने मात्र त्यो पद्धति श्रेष्ठ हुन्छ ।” लोकतन्त्रले यस्तै पद्धतिका आधारमा शासन सञ्चालन होस् भन्ने चाहना राख्छ । महात्मा गान्धीले प्लेटोले लोकतन्त्रलाई भिडको शासन भने पनि त्यसलाई अस्वीकार गदै भनेका छन्, “लोकतन्त्र केवल सङ्ख्या होइन, यो त नैतिकता, सत्य र अहिंसामा आधारित हुनु पर्छ ।” लोकतन्त्रले योगदान खोज्छ । नेतृत्वमा सेवा, त्याग, आत्मबलिदान, नैतिकता, आत्मानुशासन जस्ता गुणको अभावमा लोकतन्त्रलाई योगदान दिन सकिँदैन । यी सबै विषयभन्दा माथि आफूमा निहित स्वार्थ बसिदियो भने त्यो नेतृत्वले यो पद्धतिलाई सही गन्तव्यमा पु¥याउन सक्दैन । 

लोकतन्त्रमा हरेक नागरिकलाई योगदान पुर्‍याउने अवसर हुन्छ । आफ्नो वरिपरि असल नेतृत्व जन्मने वातावरण बनाएर पनि लोकतन्त्रलाई योगदान दिन सकिन्छ । चुनावमा उठ्ने र मत हाल्ने अधिकार त छँदै छ । चुनावी प्रक्रियाले मात्र लोकतन्त्र जीवन्त हुँदैन, त्यो प्राविधिक लोकतन्त्र हुन्छ । बिपी कोइरालाले लोकतन्त्रलाई केवल शासन प्रणाली मात्र ठानेनन्, लोकतन्त्रलाई ‘व्यक्तिको स्वतन्त्रता, समानता, मानव गरिमाको रक्षा गर्ने मूल्य र सभ्य जीवनशैलीका रूपमा’ हेर्थे । उनी कानुनी शासनको सम्मानमा जोड दिन्छन् र लोकतन्त्र चलाउन सुदृढ संस्था, स्वतन्त्र न्यायपालिका, निष्पक्ष निर्वाचन आयोग आदि आवश्यक हुने तर्क गर्छन् । यति भयो भने मात्र लोकतन्त्र जीवन्त र नागरिकलाई लाभ दिन सक्ने ढङ्गले उपस्थित हुन्छ । 

संस्थाहरू (कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, संवैधानिक आयोगहरू, न्याय तथा सेवा प्रदायक अन्य सबै), कमजोर बनाइएका छन् । अमुक व्यक्ति, शासक र स्वार्थ समूहको प्रभावमा ती संरचना परिरहेको गुनासो गर्ने ठाउँ पटकपटक देखिएका छन् । अशिष्ट आलोचना र प्रतिशोध साध्ने चरित्र हाबी हुँदै गएको छ । ‘पख्लास !’ को भावना सबैमा देखिन्छ । मौका कुरेर बसेको जमात राजनीतिमा हाबी हुँदै छ । विधिसँगको लगाव र त्यसप्रतिको सम्मान भाव स्खलित हुँदै गएको छ । यो अवस्थाले नयाँ पुस्तामा नैराश्यता बढ्दै गएको छ । सकारात्मक विषयतर्फ बहस गर्नुलाई अपराधी वा यथास्थितिवादी करार गरिन्छ । नकारात्मकता नै ठुलो शक्ति र क्षमताका रूपमा स्थापित हुँदै गएको छ । यसले समाजलाई कृतज्ञ बनाउँदै त छैन ? सबैलाई सिध्याउने ध्येय बोक्ने र त्यस अनुसारको कर्म गर्ने नै नेता कहलिन थालेको छ । यो पृष्ठभूमिमा सक्रिय राजनीतिमा नरहेको क्षेत्रबाट समेत लोकतन्त्रका लागि योगदान आवश्यक छ । युवा वर्ग लोकतान्त्रिक मान्यतामा प्रस्ट भएर प्रविधिको उपयोग गर्दै लोकतान्त्रिक चरित्रको प्रवर्धनमा योगदान दिन सक्ने हुनु पर्छ । त्यसका लागि दैनिक राजनीतिक घटना/परिघटनामा संलग्न भइहाल्न पनि पर्दैन । लोकप्रिय र भावुक भाषणले सत्तामा पुगे पनि त्यो टिकाउ हुन सक्दैन । छिमेकी भारतमा अरबिन्द केजरीवालको अवस्था पनि हाम्रा लागि सिकाइको विषय हुन सक्छ । नयाँ पुस्ता प्रविधिमा निपुण बन्दै छ । प्रविधिको प्रयोगबाट बुझ्न, सिक्न सहज हुने मात्र होइन, यो बानी नै परिसकेको छ । 

युवा पुस्ता प्रविधिप्रति जुन ढङ्गले समर्पित हुँदै गराइरहेको छ, त्यसको उच्चतम सदुपयोग गर्दै लोकतान्त्रिक मान्यतामा आफू पनि सचेत बन्दै समाजलाई पनि सशक्त बनाउनु पर्छ । लोकतन्त्रका मान्यता आत्मसात् गर्दै आलोचना, बहस र मूल्याङ्कन गर्न सक्ने नयाँ पुस्ताले मात्र लोकतन्त्रलाई जोगाउन सक्छ । प्लेटोले आशङ्का गरे झैँ तानाशाह जन्मनबाट रोक्न सक्छ । 

लोकतन्त्रलाई योगदान पुर्‍याउन सक्ने अर्को क्षेत्र भनेको मिडिया हो । लोकतन्त्रले अपेक्षा गरे जस्तो गुण भएको नेता जन्माउनेतर्फ मिडिया गम्भीर हुन आवश्यक छ । नेता बनाइदिने र तर उसले गल्ती गर्दा आलोचना गर्न नसक्ने हो भने त्यो मिडिया लोकतन्त्रको पक्षधर मानिँदैन । त्यो त एउटा व्यक्तिको प्रचार माध्यममा सीमित भइदिन्छ । 

हामीले अभ्यास गर्न चाहेको लोकतन्त्रले बहुदलीय प्रणाली र विचारको विविधतालाई संरक्षण गर्नु पर्छ । लोकतन्त्रको आफ्नै संस्कृति छ । विपक्षप्रति सहिष्णुता, विचार विमर्श र आलोचनाको अधिकारलाई बिपी कोइरालाले लोकतान्त्रिक संस्कृतिका आधार भनेर व्याख्या गरेका छन् । निशेध, हिंसा, विधिभन्दा बाहिर गएर सोधिने प्रतिशोध लोकतन्त्रमा वर्जित हुनु पर्छ । उच्च नैतिक मूल्य प्रदर्शन गर्न दृढ सङ्कल्पसहितको नेतृत्वबाट मात्रै रूपान्तरण र सही गन्तव्यका लागि गतिशीलता सम्भव हुन्छ । 

लोकतन्त्रले अपेक्षा गर्ने व्यक्तिको मात्र होइन विचारको पनि उपस्थिति हो । सही विचार बोक्ने नेतृत्वले बलको होइन, विचारको लडाइँ लड्छ । यस्तो लडाइँ लड्ने नेतृत्वसँग नयाँ पुस्ताले उत्तेजना होइन, विचारको थप व्याख्या अपेक्षा गर्ने हो । विचारका आधारमा प्रतिस्पर्धा गर्ने राजनीति मात्र अन्य सबै विषयलाई संरक्षण र नेतृत्व गर्न सक्छ । अरस्तुले राजनीतिशास्त्रलाई यसै अर्थमा ‘मास्टर साइन्स’ भनेका छन् । व्यक्तिको भिडमा राजनीति हरायो भने तानाशाह जन्मन्छ । विचारको बलमा राजनीतिक अभ्यास भयो भने लोकतन्त्र फस्टाउँछ ।