माधव्रसाद बराल
माछापुच्छ्रे (कास्की), माघ २४ गते । बङ्गालादेशसँग लिग चरणमा खेलेको हारको बदला लिँदै दक्षिण एसियाली खेलकुद महासङ्घ (साफ) यु–१९ महिला फुटबलको उपाधि भारतले जितेको छ ।
पोखरा रङ्गशालामा शनिबार भएको फाइनल खेलमा भारतले साविक विजेता बङ्गालादेशलाई ४–० गोलले पराजित गर्दै ट्रफी उचालेको हो । लिग चरणमा भारत बङ्गालादेशसँग २–० गोलले पराजित भएको थियो ।
एकपक्षीय खेलमा भारतको जितमा जुलानले ४२औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । प्लेयर अफ दि म्याच घोषित उहाँले प्रतिका बरमानले मिलाइदिएको पासलाई पोस्टमा छिराउनु भएको थियो ।
६३औँ मिनेटमा एलिजावेद लाक्राले अर्को गोल गरी अग्रतालाई दोब्बर पार्नुभयो । बङ्गालादेशका टिम कप्तान अर्पिता विश्वासले भारतका खेलाडी अल्भादेवीलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमार्फत उहाँले गोल गर्नुभएको हो ।
बङ्गालादेशका किपर अरजान बेगमले बललाई समात्न खोज्दा फुत्केपछि त्यसको फाइदा उठाउँदै ६८औँ मिनेटमा भारतकी पर्ल फर्नान्डेजले अर्को गोल गरेर जितलाई सुनिश्चित गर्नुभयो ।
८३औँ मिनेटमा अल्भादेवीले मिलाइदिएको पासमा अन्विता रघुरमनले गोल गरेर खेललाई ४–० पु¥याउनुभयो । भारतले केही राम्रा अवसरलाई गोलमा परिणत गर्न चुक्यो भने बङ्गालादेशले शनिबारको खेलमा एक/दुई वटा मात्र राम्रा मुभ बनाएपनि गोलमा परिणत गर्न सकेन ।
खेलमा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बङ्गालादेका अल्पी अख्तर बन्दा उत्कृष्ट किपर भारतका मुन्नी र अनुशासित टिम भारत बन्यो ।बङ्गालादेशका अल्पी अख्तरले खल अवधिमा सात गोल गर्नुभएको थियो । नेपाल, भारत, बङ्गालादेश र भुटान सहभागी खेल माघ १७ देखि सुरु भएको थियो ।