• २४ माघ २०८२, शनिबार

खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक तराईसँग सिधा यातायातमा जोडियो

blog

तस्बिर क्याप्सन: वंशिलाघाटमा शनिबारदेखि सञ्चालनमा आएको बेलिब्रिज । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई 

खोटाङ, माघ २५ गते । खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक वंशिलाघाटबाट तराईसँग सिधा यातायातमा जोडिएको छ । वंशिलाघाटस्थित सुनकोसीमा निर्माण भएको अस्थायी बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई तराईसँग जोडेको हो।

खोटाङको वराहपोखरी गाउँपालिका–५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने वंशिलाघाटस्थित सुनकोसीमा शनिबारदेखि बेलिब्रिज सञ्चालनमा आएको छ । वंशिलाघाटमा पहिलो पटक बेलिब्रिज जडान हुँदा जिल्लाको दक्षिणी क्षेत्र पनि पहिलो पटक तराईसँग सिधा यातायातमा जोडिएको हो ।

अस्थायी रूपमा जडान गरिएको बेलिब्रिजले केही महिनाका लागि खोटाङका दक्षिणी क्षेत्रका नागरिकलाई खुसी दिएको छ । जिल्लाको जन्तेढुङ्गा, वराहपोखरी र खोटेहाङ गाउँपालिकाका साथै भोजपुरका केही गाउँका नागरिकलाई तराई आउजाउ गर्न सबैभन्दा छोटो दुरीको नाका वंशिलाघाट हो । उदयपुरको बेलटार नजिकै पर्ने वंशिलाघाटमा बेलिब्रिज निर्माण भएसँगै केही महिनाका लागि खाद्यान्न आयात–निर्यात र यात्रुलाई तराई आउजाउ गर्न सहज भएको कोशी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बताउनुभयो ।

वंशिलाघाटमा सङ्घीय सरकारको बजेटबाट पक्की पुल निर्माणको काम पनि भइरहेको छ । तर, पुल निर्माण नहुञ्जेल बेलिब्रिजबाट अस्थायी रूपमा सिधा यातायात सञ्चालनका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा एक करोड ८७ लाख रुपियाँमा खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको बेलिब्रिज जडान गरिएको हो । ५१.८१ मिटर लम्बाइ र ४.१ मिटर चौडाइ भएको बेलिब्रिज गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाख रुपियाँमा जडान गरेको भौतिक पूर्वाधार कार्यालय खोटाङले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्न थालेपछि आगामी जेठमा बेलिब्रिज निकालेर राख्ने गरी सम्झौता भएको बताइएको छ । हाल बेलिब्रिज जडान गरिएको वंशिलाघाटमा मोटरेबल पक्की पुल निर्माणका लागि १९ करोड १८ लाख ४१ हजार ४०० रुपियाँ लागतमा ३३ महिनाभित्र सम्पन्न गर्ने गरी २०७९ मङ्सिर १ गते कालिका–वेदांसी जेभीले सम्झौता गरेको थियो । तर, पुल निर्माणमा चरम ढिलासुस्ती भइरहेको छ । निरन्तरको ताकेता पश्चात् अहिले निर्माण कम्पनीले पुल निर्माणको काम पनि धमाधम गरिरहेको मन्त्री राईले बताउनुभयो ।

वंशिलाघाटमा झोलुङ्गे पुलको सहारामा ठेलागाडीबाट सामान वारपार गर्नुपर्ने बाध्यता थियो । हिउँदको महिनामा नदीबाटै जोखिम मोलेर काठका डुङ्गाहरू तार्ने गरिएको थियो । शनिबारदेखि सञ्चालनमा आएको बेलिब्रिजले केही महिनाका लागि उक्त सास्ती हटाएको छ ।