राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा) माघ २४ गते । स्याङ्जामा कुटपिटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१०, सुम्रेखोला स्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा स्थानीय ४० वर्षीय पृथ्वीराज अर्याल र निजको श्रीमती ४० वर्षीया सङ्जिता नेपाल अर्याललाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ग.२४ प. ५१०१ नम्बरको स्कुटरमा सवार दम्पतीलाई पुतलीबजार–१०, सुम्रेखोला ओडारे का २८ वर्षीय हाकु काले भन्ने विनोदबहादुर अर्याल,सोही ठाउँका ३० वर्षीय प्रविन राना, आरुपाटा बस्ने २५ वर्षीय रोहित गुरुङ, सोही ठाउँका २७ वर्षीय अनुप राना र सोही वडाको कान्छीबजारका २३ वर्षीय महेश भन्ने चेतनाथ अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले कुटपिटमा संलग्न सवार रहेका ग. ५ प. १९१ र ग. १० प. ४७१३ नं.को दुई वटा मोटरसाइकललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते पृथ्वीराज अर्याल कांग्रेसका सक्रिय कार्यकर्ता हुनुहुन्छ भने सङ्जिता पुतलीबजार नगरपालिकाका कार्यपालिका सदस्य हुनुहुन्छ ।
शुक्रबार राति भएको घटना पछि फरार रहेका पाँचै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
यसैबिच नेपाली कांग्रेस स्याङ्जाले चुनावी अभियानमा संलग्न आफ्ना कार्यकर्ता माथि आक्रमण भएको भन्दै विरोध जनाएको छ । कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालले प्रेस बिज्ञप्ती निकालेर आक्रमणकारीलाई कडा कारबाहीको माग गर्नुभएको हो ।
घटना भएको जानकारी पाउनसाथ कांग्रेस स्याङ्जाका सभापति राजु थापा सहितका नेताहरू घटनास्थलमा पुग्नुभएको थियो ।